व्यावसायिक भिसामा आएर शङ्कास्पद गतिविधि गर्ने चार चिनियाँ नागरिक पक्राउ


काठमाडौं-  नेपालमा व्यावसायिक भिसा लिएर बसोबास गरिरहेका चार जना चिनियाँ नागरिकलाई भिसाको उद्देश्य विपरीत गतिविधि गरेको आरोपमा अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामा एक महिला र तीन पुरुष रहेका छन्। उनीहरूलाई काठमाडौंको सोह्रखुट्टे–मिलिजुली चोकस्थित म्हैपी क्षेत्रबाट पक्राउ गरिएको विभागले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आर्थिक हैसियत कमजोर रहेका नेपाली युवतीलाई जागिरको प्रलोभन देखाएर शङ्कास्पद गतिविधिमा संलग्न गराएको खुल्न आएको छ। ती युवतीहरूलाई टिकटक भिडियो बनाउन लगाइने र सोहीमार्फत अन्य चिनियाँ नागरिकसँग ‘साथी’ बनाई अन्ततः विवाह गर्न प्रेरित गरिने गरेको विभागको भनाइ छ। यसै क्रममा केही युवतीलाई विवाह गर्ने बहानामा चीनसम्म लगेका तथ्य पनि भेटिएका छन्।

उनीहरूले म्हैपीमा घर भाडामा लिएर ती युवतीहरूलाई राख्ने र नेपाललाई केन्द्र बनाएर विभिन्न मुलुकमा समेत घुमाउन लैजाने गरेको खुलेको छ। नियन्त्रणमा परेकामध्ये दुई जना पछिल्ला १० वर्षदेखि नेपालमा पर्यटक, अध्ययन र व्यावसायिक भिसाका विभिन्न श्रेणीमा बसेका थिए। तर भिसा जाँचका क्रममा उनीहरूले पासपोर्ट तथा भिसा कागजात प्रस्तुत गर्न नसक्नुका साथै अध्यागमन तथा सुरक्षाकर्मीप्रति दुर्व्यवहार गरेको विभागको दाबी छ।

 

प्रतिक्रिया