
कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान सम्पन्न
काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनी विशन–ईश्वरी जोइन्ट भेन्चर ललितपुरका प्रोजेक्ट म्यानेजर सौरभ शाहका अनुसार मैदानका सबै ६ वटा पोलमा फ्लडलाइट जडान कार्य पूरा भइसकेको छ।
शाहका अनुसार अब एउटा पोलमा एमिङ (बत्तीको फोकस मिलाउने प्रक्रिया) र प्रकाश परीक्षण मात्रै बाँकी छ। उनले भने, ‘भोलिसम्म एमिङ र परीक्षण सकाएर क्यानलाई मैदान हस्तान्तरण गर्छौं। आज सबै बत्तीहरू अन गरेर धमाधम काम भइरहेको छ।’
प्रत्येक पोलमा ७०–७० वटा गरी कुल ४२० फ्लडलाइट जडान गरिएको छ। प्रकाश कता पर्छ भन्ने निर्धारण गर्न मैदानभर स–साना झन्डा राखेर एमिङ प्रक्रिया अघि बढाइएको छ। हालसम्म ९५ प्रतिशत काम सकिएको र करिब ५ प्रतिशत मात्र बाँकी रहेको कम्पनीले जनाएको छ। भारतबाट समेत प्राविधिक ल्याएर सिफ्टअनुसार डेढ सयभन्दा बढी कामदार खटाइएका छन्। शुक्रबार मात्रै १० प्रतिशत काम पूरा भएको कम्पनीले जानकारी दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १ देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका ३२ मध्ये २३ खेल फ्लडलाइटमा खेलाउने खेल तालिका सार्वजनिक गरिसकेको छ।



कागजपत्र |
