झापामा जेनजी आन्दोलनका बेला लुटिएका गोली बरामद, ८ जना पक्राउ


झापा-  जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार र गोलीसहित ८ जना पक्राउ परेका छन्। प्रहरीले बुधबार झापाको बिर्तामोड र आसपासका क्षेत्रबाट गरिएको छापामारी कारबाहीमा ५४ राउन्ड गोलीसहित दुई जना र कार्यालय तथा सवारी साधनमा तोडफोड, आगजनी र प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना गरी ८ जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई बिर्तामोड–२ रामचोकमा बस्ने २७ वर्षीया इस्रप खातुन र त्यही ठाउँका २२ वर्षीय विकास टुडु पक्राउ परेका हुन्। उनीहरूको कोठाबाट भदौ २४ गतेको आन्दोलनका क्रममा लुटिएको एसएलआर राउन्ड ३८ थान, इन्सास राउन्ड १६ थान, काँसको थाल, करुवा, पित्तलको गिलास र प्रहरीको बुट बरामद गरिएको छ। बरामद सबै गोली इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको प्रहरीले जनाएको छ।

यस्तै, आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा तोडफोड, आगजनी र ढुङ्गामुढा गर्ने ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड–५ का २२ वर्षीय राजन चौधरी, २० वर्षीय आयुस धिमाल, कन्काई–१ का ४२ वर्षीय गोपाल सङ्ग्रौला, अर्जुनधारा–७ की २४ वर्षीया पूजा मगर, सोही स्थानका २८ वर्षीय सुरज मगर र सुनसरी हरिनगर–१ का २२ वर्षीय साहिल अन्सारी छन्।

त्यस्तै, प्रहरी कर्मचारीलाई बाँसमा डोरीले बाँधेर अमानवीय व्यवहार गरेको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय नवराज राईलाई पनि ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ गरी थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया