
हस्ताक्षर प्रकरणः महामन्त्रीद्वयको अभियानको विश्वसनीयतामाथि नै प्रश्न
आफूले हस्ताक्षर नगरेको भन्दै महाधिवेशन प्रतिनिधिले पठाए कावा सभापतिलाई पत्र
काठमाडौं — नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मागसहित सुरु गरिएको तथा कथित ‘महामन्त्रीद्वय अभियान’ नै विवादमा तानिएको छ।
बाँके क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधि मो. याकुब अन्सारीले आफ्नो नाम र हस्ताक्षर कीर्ते गरी प्रयोग गरिएको भन्दै औपचारिक आपत्ति जनाएपछि यो अभियानको नैतिकता र विश्वसनीयता दुवै प्रश्नमा परेको छ।
अन्सारीले नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पठाएको पत्रमा लेखेका छन् — ‘विशेष महाधिवेशनको माग गर्ने हस्ताक्षरमा मेरो नाम राखिएको जानकारी भए पनि मैले कुनै हस्ताक्षर गरेको छैन। त्यो मेरो दस्तखत होइन। म नियमित महाधिवेशनको पक्षमा छु।’
यो स्पष्टिकरणसँगै अब कांग्रेसभित्र झूटको खेती खुल्न थालेको विश्लेषण गरिन्छ। पार्टीभित्र आन्तरिक असन्तुष्टिलाई ‘जनमतको स्वरूप’ देखाउने प्रयास नै कपटपूर्ण भएको आरोप उठ्न थालेको छ।
नेता–कार्यकर्ताबीच प्रश्न उब्जिएको छ — ‘सत्यलाई दबाएर हस्ताक्षरको राजनीतिमा कति समय टिक्न सकिन्छ ?’
यस किसिमको वास्तविकता सार्वजनिक भएपछि विश्लेषकहरू भन्छन् — कांग्रेसभित्रको यस्ता हतारो र हत्केलामा गरिएको अभियानहरूले पार्टीको चरित्र र अनुशासन दुबैमा आघात पुर्याइरहेको छ।
अब प्रश्न छ, पार्टी नेतृत्व मौन बस्छ कि नक्कली दस्तखतको छानबिन गर्छ ? पछिल्लो समयमा यस किसिमको तथ्य सार्वजनिक भएको छ । अब विस्तारै अन्य ‘याकुब अन्सारी’ पनि सार्वजनिक हुनसक्ने आंकलन गरिएको छ ।



कागजपत्र |
