कैलालीमा श्रीमानको हत्या आरोपमा पत्नी पक्राउ


कैलाली- कैलालीमा श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

जोशीपुर गाउँपालिका–३ लक्कडकी ३५ वर्षीया सुनिता देवी कठरियालाई आफ्नै श्रीमान ५० वर्षीय लखनलाल कठरियाको हत्या प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएको हो।

शनिबार राति घरायसी विवाद चर्किएपछि सुनिताले श्रीमानलाई कुटपिट गरेको आरोप छ। कुटपिटबाट लखनलाल गम्भीर घाइते भएको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको टोलीले उनलाई घटनास्थलमै पक्राउ गरेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका लखनलाललाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले पुष्टि गरेको छ।

यस प्रकरणमा हत्या सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया