अनमोल अभिनित ‘जेरी अन टप’ आजदेखि प्रदर्शनमा


काठमाडौं — सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘जेरी अन टप’ आजदेखि दर्शकमाझ प्रदर्शनमा आएको छ ।

चलचित्रमा अभिनेता अनमोल केसीले सगरमाथा चढ्ने युवाको भूमिका निर्वाह गरेका छन्। चलचित्रमा देखिँदा स्वाभाविक लागोस भनेर उनले र चलचित्रमा सगरमाथा चढ्न सघाउने ‘गाइड’ बनेकी अभिनेत्री जसिता गुरुङले एक महिना प्रशिक्षण पनि लिएकी थिइन्।

आजदेखि प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ पश्चात् अन्य निर्मातालाई पनि हिमाली कथामा चलचित्र बनौँ प्रेरणा मिल्ने अभिनेता केसीको बुझाइ छ।

चलचित्रकी अर्की अभिनेत्री आँचल शर्माले झन्डै ११ वर्ष अगाडि प्रदर्शन भएको ‘जेरी’ले युवापुस्तालाई चलचित्र भवनसम्म आकर्षित गरेकोले सोही नामसँग मिल्दो चलचित्र ‘जेरी अन टप’ले पनि नयाँ पुस्तालाई आकर्षित गर्ने बाताइन्।

उक्त चलचित्रका प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताए।

उक्त चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गीलगायत कलाकारले अभिनय गरेका छन् ।

‘अनन्या फिल्म्स प्रोडक्सन’बाट निर्मित ‘जेरी अन टप’को सुयोग गुरूङले निर्देशन गरेका हुन्।

यस चलचित्रमा हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलिप रेग्मीले छायाङ्कन गरेका छन्।

प्रतिक्रिया