बेलायतमा आयोजित सैन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण पदक


काठमाडौं-  नेपाली सेनाको टोलीले संयुक्त अधिराज्य (बेलायत) को वेल्स, ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म आयोजित ‘एक्सर्साइज क्याम्ब्रियन पेट्रोल–२०२५’ मा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेको छ।

यो अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा ३३ देशका ११७ टोली सहभागी भएका थिए। संयुक्त अधिराज्य बेलायतको आयोजनामा सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि निरन्तर सहभागिता जनाउँदै आएको हो।

अभ्यासमा सहभागी टोलीले दुई दिनभित्र करिब ५० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ, जसका क्रममा हतियार, करिब ५० पाउण्ड तौल बराबरको उपकरण र बन्दोबस्ती सामग्री बोक्नुपर्छ।

प्रतियोगितामा सैनिकहरूको तयारी, सूचनासङ्कलन, घाइते तथा बिरामीको व्यवस्थापन लगायतका क्षमताको परीक्षण गरिन्छ।

यसअघि पनि नेपाली सेनाले यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सन् २०१७, २०१९ र २०२४ मा स्वर्ण पदक जितिसकेको छ।
यसपालिको जितसँगै नेपाली सेनाले चौथो स्वर्ण पदक प्राप्त गरेको हो।

प्रतिक्रिया