नेपालले यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने


काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोटको सुपर सिक्स चरण अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।

यो खेल नेपाल र यूएई दुवैका लागि टी–२० विश्वकप २०२६ मा स्थान बनाउने अभियानको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ।

समूह चरणमा जापान र कुवेतलाई हराउँदै सुपर सिक्समा प्रवेश गरेको नेपालले दुई अंकसहित यो चरण सुरु गरेको हो। तर समूह चरणमै बाहिरिएको कुवेतसँगको जित सुपर सिक्समा नजोडिएकाले नेपालका अंक दुईमै सीमित छन्।

सुपर सिक्समा नेपालले यूएईसँगै कतार, सामोआ र ओमान विरुद्ध पनि खेल्नेछ। यस चरणमा शीर्ष तीन टोलीले भारत र श्रीलंकामा हुन गइरहेको आगामी वर्षको टी–२० विश्वकपमा स्थान सुनिश्चित गर्नेछन्।

नेपाल र यूएईबीचको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहास निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ। हालसम्म दुवै टिमले १० खेलमा ५–५ जित हात पारेका छन्। सन् २०२२ मा ओमानमा भएको विश्वकप छनोटमा नेपाल यूएईसँग पराजित हुँदा विश्वकप पुग्न चुकेको थियो।

त्यसैले आजको खेल नेपालका लागि प्रतिशोध र अवसर दुवैको संयोजन बनेको छ, जसमा यूएईविरुद्ध आफ्नो श्रेष्ठता प्रमाणित गर्ने लक्ष्य रहेको छ।

प्रतिक्रिया