माइतीघरबाट पक्राउ परेका निकोलस भुसालले गाँजा तानेको पुष्टि, सुधार केन्द्र पठाइयो


काठमाडौं- बिहीबार माइतीघर मण्डलमा प्रदर्शनका क्रममा पक्राउ परेका अभियान्ता डा. निकोलस भुसालले गाँजा सेवन गरेको पुष्टि भएको छ। प्रहरी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनको शरीरमा गाँजाको अंश पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए।

निकोलसलाई सुरूमा वीर अस्पताल, त्यसपछि त्रिवि शिक्षण अस्पताल हुँदै अन्ततः प्रहरी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो। अन्तिम रिपोर्टमा लागूऔषध सेवनको प्रमाण भेटिएपछि उनलाई सुधार केन्द्र पठाइएको प्रहरीले जनाएको छ।

एसपी भट्टराईका अनुसार निकोलसलाई उनका दाजुको जिम्मामा सुधार केन्द्रमा पठाइएको हो। यसअघि पनि गत वर्ष पक्राउ पर्दा उनको मेडिकल रिपोर्टमा गाँजा सेवन गरेको उल्लेख भएको थियो।

प्रहरीले निकोलससँगै थप दुई जनालाई पनि पक्राउ गरेको थियो। पक्राउ परेका सबैको स्वास्थ्य परीक्षणपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया