जेनजीको उग्ररुपले मुठभेठतर्फ मुलुक !


काठमाडौं – भदौ २३ र २४ गतेको विध्वंशकारी प्रदर्शनबाट एका–एक शक्तिमा आएको जेनजीहरुको पछिल्लो गतिविधिसँगै मुलुक मुठभेडतर्फ उन्मुख देखिएको छ ।

२३ गतेको प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै जेन्जीसमूहले प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएसँगै सिर्जनाको भएको परिस्थितिका कारण मुलुक मुठभेडतर्फ उन्मुख भएको हो ।

अनेकौं जेनजी समूहमध्ये एकसमूहको नेतृत्व गरिरहेका सुधन गुरुङ पटक–पटक तत्कालिन ओली र लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न दबाब दिइरहेका कारण र गृहमन्त्री ओमप्रकाश अर्याल पनि पक्राउ गर्ने मानसिकतामा पुगिसकेपछि मुलुक विषम परिस्थितिमा पुग्ने सम्भावना देखिएको हो ।

सोमबार काठमाडौं परिसरमा किटानी जाहेरी दर्ता गराउन पुगेका गुरुङसहितको समूहलाई प्रहरीले उजुरी दर्ता गर्न नमिल्ने जनाएको थियो । प्रहरीले त्यस घटनासँग सम्बन्धित घटनाको छानबिनका लागि गौरी बहादुर कार्की नेतृत्वको छानबिन आयोग गठन भई कार्य सुरु गरिसकेको अवस्थामा आफूहरुले उजुरी लिन नमिल्ने जनाएको थियो । प्रहरीले उजुरी दर्ता नगरेपछि जेनजीहरुले प्रहरीलाई सडकबाटै देखाइदिने भन्दै आन्दोलनको धम्की दिएका थिए ।

जेनजी समूहको उक्त धम्कीपछि परिसरप्रमुख एसएसपी रमेश थापाले काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीलाई ब्रिफिङ गरेपछि प्रहरी महानिरिक्षक चन्द्रकुबेर खापुङ, सिआईबीका एआईजी डा. मनोजकुमार केसी गृहमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए ।

आईजी खापुङले २४ गतेको प्रदर्शनका क्रममा लुटिएका १२ सयभन्दा अत्याधुनिकसहितका हतियार बाहिरै रहेको र जेलबाट भागेका साढे ५ हजार बढी अपराधीहरु बाहिरै रहेकोले पुनः आन्दोलन भए ठूलो क्षति हुनसक्ने जानकारी गराएका थिए ।

सिंहदरबारको छलफलपश्चात् प्रधानमन्त्रीसँग थप छलफलका लागि गृहमन्त्रीसहितको सुरक्षा निकायको टोली बालुवाटार पुगेको थियो । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री कार्कीले पनि ओली र लेखकलाई पक्राउ गर्ने व्यवस्था मिलाउन आईजी खापुङलाई आग्रह गरेकी थिइन् । त्यसपछि आईजी खापुङले प्रधानमन्त्री र गृहमन्त्री स्वयं नै कानुनको ज्ञाता रहेको हुनाले आफूहरुलाई कानुनीअनुसार जिम्मेवारीसहित लिखित आदेश दिन अनुरोध गरेका थिए । यदि जिम्मेवारीसहितको लिखित आदेश पाएको अवस्थामा ओली र लेखकलाई पक्राउ गर्ने खापुङले जनाएका थिए ।

उक्त अवसरमा ओली र लेखक पक्राउपछिको सम्भावित दुर्घटनाको पनि आंकलन गर्न आईजीपी खापुङले प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेका थिए ।

उक्त अवसरमा खापुङले जनताबाट निर्वाचित सरकारका प्रधानमन्त्रीले त बालुवाटार छाड्न परेको स्मरण गराउँदै जिम्मेवारीसहितको लिखित आदेश माग गरेपछि प्रधानमन्त्री कार्की केही हच्किएको स्रोतको दाबी छ ।

त्यसअवसरमा आईजी खापुङले २४ गतेको प्रदर्शनका क्रममा लुटिएका १२ सयभन्दा अत्याधुनिकसहितका हतियार बाहिरै रहेको र जेलबाट भागेका साढे ५ हजार बढी अपराधीहरु बाहिरै रहेकोले पुनः आन्दोलन भए ठूलो क्षति हुनसक्ने जानकारी गराएका थिए ।

यदि ओली र लेखकलाई पक्राउ गरेको खण्डमा त्यसविरुद्ध प्रदर्शन हुने निश्चित प्रायः छ । त्यस अवस्थामा मुलुकका दुई ठूला दलका कार्यकर्ता र जेन्जीसमूहबीच नै झडप हुने र त्यस झडप नियन्त्रण बाहिर जाने सक्ने प्रहरीको आंकलन रहेको छ । पछिल्लो प्रदर्शनका कारण भौतिक र मानसिक रुपमा कमजोर बनेको प्रहरी प्रशासनले मात्रै त्यस किसिमको प्रदर्शन नियन्त्रण गर्न असफल हुने निक्र्यौलमा प्रहरी पुगेको थियो ।

२ दिने आन्दोलनबाट प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई पनि जेनजी समूहले पटकपटक दबाबस्वरुप चेतावनी समेत दिँदै आएका छन् । यसअघि प्रधानमन्त्री भएको तेस्रो दिन नै राजीनामाको माग गरेका थिए । उनै सुधनले ओली र लेखकलाई पक्राउ गर्न दबाब दिँदै पुनः सडक आन्दोलन गर्ने धम्की दिएका छन् ।

सोमबार किटानी जाहेरी दर्ता नभएपछि जेनजीको एक समूह मंगलबार पनि ओली र लेखकविरुद्ध किटानी जाहेरी लिएर काठमाडौं परिसर पुगेर प्रदर्शन गरिरहेको छ । प्रहरी स्रोतका अनुसार उक्त जाहेरी प्रहरीले जिम्मा लिएर छानबिन आयोगलाई नै बुझाउने तयारी गरेको छ ।

यसैबीच नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका बालेन्द्र (बालेन) शाह र जेनजी आन्दोलनका संयोजक भनिएका सुधन गुरुङविरुद्ध किटानी जाहेरी लिएर परिसर जाने तयारी गरेको जनाएको छ ।

२४ गतेको प्रदर्शनमा प्रहरीलाई कुटपिटका साथै घाँटी रेटेर हत्या गरेको, सार्वजनिक सम्पत्ति आगजनी गरेको, प्रहरीका हातहतियार, बन्दोबस्तीका सामान र व्यक्तिका घरसमेत लुटपाट गरेको आरोप लगाउँदै जाहेरी दर्ता गर्न लागेको हो ।

प्रतिक्रिया