६ हजारभन्दा बढी कैदी अझै फरार


काठमाडाैं- देशभरका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट जेन–जी आन्दोलनको क्रममा भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म ८ हजार ५४ जना पक्राउ वा आफैं फर्किएका छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार फर्किएकामध्ये ७ हजार ७१३ जना कारागारबाट भागेका र ३४१ जना सुधारगृहबाट भागेका थिए। उनीहरूले भने, “कतिपय आफैं कारागारमा आए, कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएका हुन्।”

तर अझै ६ हजार ४९४ कैदीबन्दी फरार छन्। फरार हुनेमध्ये ५ हजार ८७२ जना कारागारका र ६२२ जना सुधारगृहका कैदीबन्दी रहेको विभागले जनाएको छ। उनीहरूको खोजी कार्य जारी छ।

गत भदौ २४ गतेको आन्दोलनकै क्रममा मात्रै १३ हजार ५८५ जना कारागार र ९६४ जना सुधारगृहका कैदीबन्दी फरार भएका थिए। यसबीचमा १० कैदीबन्दीको मृत्यु भएको विभागले पुष्टि गरेको छ।

हाल कूल ३० हजार ६४६ कैदीबन्दीमध्ये २३ हजार ४४६ जना मात्र कारागार र सुधारगृहमा रहेका छन्।

प्रतिक्रिया