
बानेश्वरको वाणिज्य बैंक शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट
काठमाडौं – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन परिसरभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा ठूलो मात्रामा लुटपाट भएको खुलासा भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले सुशान्त प्रधानको पोडकास्टमा बोल्दै उक्त शाखाबाट करिब पाँच करोड रुपैयाँ नगद र झण्डै १८ किलो सुन लुटिएको जानकारी दिएका हुन्। ‘‘त्यहाँ गम्भीर लुटपाट भएको छ,’’ गभर्नर पौडेलले भने।
उनका अनुसार आन्दोलन सुरु हुनुअघि नै बैंकहरूमा आक्रमण हुनसक्ने सूचना प्राप्त भएपछि राष्ट्र बैंकले सुरक्षा सतर्कता सम्बन्धी सर्कुलर गरेको थियो। आसपासका भवनमा आगजनी भए पनि राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार र थापाथली शाखा भने सुरक्षित रहेको उनले बताए।
त्यसबेला वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट नगद बोकेर भागिरहेको दृश्यकै भिडियो सार्वजनिक भएको थियो। लुटमा संलग्न युवाहरूले भिडियो खिच्ने व्यक्तिलाई समेत केही रकम बाँडेको देखिन्छ।
तर, ती व्यक्तिले पाएको रकम प्रहरीलाई बुझाइसकेका छन्। ललितपुरका सुरेश देउलाले ५ लाख १० हजार ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको प्रहरीले जनाएको छ।



कागजपत्र |
