मृत्युसँगै सकियो १४ वर्षको मित्रता, अष्ट्रेलियाको सडकमा दुई नेपाली नर्सको अन्त्य


काठमाडाैं – अष्ट्रेलियाको मेलबर्नमा ह्युम फ्रीवेमाथि कंगारुलाई बचाउने क्रममा दुई नेपाली नर्सको मृत्यु भएको छ।

१४ वर्षभन्दा लामो समयदेखि साथी रहेका सरला खड्का र अरिजा सुवाल बिहीबार राति करिब ७:३० बजे दुर्घटनामा परेका हुन्। मेलबर्नकै अल्फ्रेड अस्पतालमा नर्सका रूपमा कार्यरत उनीहरू सुवालको ३०औँ जन्मदिन मनाउन जाँदै गरेका बेला दुर्घटना भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

भिक्टोरिया प्रहरीले जनाएको अनुसार उनीहरूले चलाइरहेको कार कंगारुसँग ठोक्किएको थियो। त्यसपछि दुबै जना कंगारुलाई उद्धार गर्न गाडी रोक्दै सडकमा उत्रिएका थिए। तर अध्यारो र खराबको मौसमका कारण अर्को कार चिप्लिँदै तिव्र गतिमा आएर ठोक्किँदा उनीहरूको ज्यान गएको हो।

क्रेगीबर्नस्थित घटनास्थलमा बेभरिज निवासी ३० वर्षीया सरला खड्काको त्यतै मृत्यु भयो। थमास्टाउनकी ३० वर्षीया अरिजा सुवाललाई भने हेलिकप्टरमार्फत अस्पताल पुर्याइए पनि उपचारका क्रममा निधन भयो।

दुर्घटनापछि चालकले भने घटनास्थलमै रोकिएर प्रहरीलाई सहयोग गरेको प्रहरीले जनाएको छ। भिक्टोरिया प्रहरीका सहायक आयुक्त ग्लेन वेइयरले यस घटनालाई “सर्वत्र दुःखद” भन्दै चेतावनी दिँदै भनेका छन्– “तिव्र गतिमा चल्ने अँध्यारो सडकमा गाडी छाडेर पैदल उत्रनु अत्यन्त खतरनाक हुन्छ। विशेष गरी रातमा र पानी परिरहेको अवस्थामा जोखिम झन् बढ्छ।”

यो दुर्घटनाको केही घण्टा अघि मात्रै सरलाले फेसबुकमा अरिजासँगको १४ वर्ष लामो मित्रतालाई सम्झिँदै जन्मदिनकाे शुभकामना दिएकी थिइन्। उनले अरिजालाई “दिदीसरह साथी” र “जीवनभरको गोप्यसाझेदार” भनेकी थिइन्।

उनले लेखेकी थिइन्-

‘साथी भनौं कि दिदी, किनकि तिमी त मलाई साथीभन्दा बढी दिदीजस्तै लाग्छौ। तिमी नै हो जससँग म आफ्ना साना–ठूला नखरा देखाउन सक्छु, अनन्त वादविवाद गर्न सक्छु, बच्चाजस्तै झगडा गर्न सक्छु र अझैपनि कुनै कुरा भन्नुअघि दुईचोटि सोच्नुपर्दैन, किनकि मलाई भन्दा राम्रो कसैले बुझ्दैन।  १४ वर्ष भयो होला हाम्रो यो पागलपनको यात्रा?  तर के थाहा छ भने, यी सबै वर्षहरूमा तिमी मेरो स्थायी साथीयौ — मेरो पार्टनर इन क्राइम, मेरो सुरक्षित ठाउँ, मेरो यथार्थ चेक गर्ने साथी, र मेरो सधैंभरि गफ गर्ने पार्टनर। पेट दुख्दासम्म हाँस्ने क्षणदेखि आँसुमा एकअर्कालाई सान्त्वना दिने क्षणसम्म हामीले सबै देख्यौं… अनि अझै पनि हामी सँगै छौं, अझ बलियो भएर।

अब तिमी केही वर्ष थप्दैछ्यौ (चिन्ता नगर, म यहाँ ठ्याक्कै उमेर खुलाउँदिन), तर मेरो शुभकामना छ — तिमीले मनमा बोकेका प्रत्येक सपना र अपेक्षा यसै वर्ष पुरा होस्। तिमी यसभन्दा कमको योग्य छैनौ।

मसँग रहनुका लागि, मेरो दिदीसरह साथी बन्नुका लागि, हाँसो र आँसुसँगै बाँड्नुभएकोका लागि धन्यवाद। जन्मदिनको धेरै धेरै शुभकामना, म तिमीलाई अनन्तसम्म माया गर्छु । हो, म तिमीलाई भोलिपनि त्यत्तिकै सताउनेछु।’

यस घटनाले मेलबर्नस्थित नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। स्थानीय नेपालीहरूका अनुसार दुवै जनाले समुदायका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका थिए। अब उनीहरूको पार्थिव शरीर नेपाल पठाउने कठिन प्रक्रिया अघि बढ्ने भएको छ।

वन्यजन्तु उद्धार संस्था ले भने यस्ता दुर्घटनाबाट बच्न घाइते जनावर देख्दा स्वयं उद्धार गर्नुभन्दा उद्धार समूहलाई सम्पर्क गर्न आग्रह गरेको छ। “सडकछेउमा घाइते जनावर देख्दा मानिसहरू भावुक हुन्छन्। तर व्यस्त सडकमा रोकिएर सहायता गर्न खोज्नु प्राणघातक हुन सक्छ,” प्रवक्ताले भने।

भिक्टोरिया प्रहरीले यस वर्ष मात्रै २०३ जनाले सडक दुर्घटनामा ज्यान गुमाइसकेको जनाएको छ, जुन गत वर्षको सोही अवधिभन्दा ११ ले बढी हो।

प्रतिक्रिया