
सामाजिक सञ्जाल बन्दप्रति कांग्रेस नेताहरूकाे असन्तुष्टि
काठमाडाैं- नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन्। आइतबार विहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा नेताहरूले अभिव्यक्ति स्वतन्त्रता खोस्ने खालको सरकारी निर्णयप्रति चिन्ता व्यक्त गर्दै तत्काल छलफल आवश्यक रहेको निष्कर्ष निकालेका हुन्।
सहमहामन्त्री जीवन परियारका अनुसार बैठकले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे सरकारसँग छलफल गर्ने निर्णय गरेको छ। सरकारमा सहभागी कांग्रेसका पर्यटनमन्त्री बद्री पाण्डे मात्र उपस्थित भए पनि उनी चीनमा रहेको बेला निर्णय भएकाले स्पष्ट धारणा राख्न नसकेको जनाइएको छ। अन्य मन्त्रीहरुसँग परामर्श गरी पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नेबारे बैठकमा छलफल भएको एक नेताले जानकारी दिए।
सरकारले सूचीकृत हुन गरेको आह्वान नटेरेको भन्दै भदौ १९ गतेदेखि फेसबुकसहितका सञ्जाल बन्द गर्ने घोषणा गरेको थियो। तर कांग्रेस नेताहरूले यस्तो निर्णयमा आपत्ति जनाउँदै प्रश्न उठाएका छन्। बैठकमा महामन्त्री गगन थापा, नेताहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, बालकृष्ण खाण, महेन्द्र यादवलगायतले विचार राखेका थिए।



कागजपत्र |
