बौद्ध खुकुरी प्रहार प्रकरणका तीन अभियुक्त दिल्लीबाट पक्राउ


काठमाडौं – राजधानीको बौद्धस्थित बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने घटनामा संलग्न तीन जनालाई भारतमा पक्राउ गरी काठमाडौं ल्याइएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी नेपाल ल्याएको स्रोतले जानकारी दिएको छ।

गत साउन १२ गते राति करिब ९ बजे नयाँबस्तीस्थित ‘डी क्याफे’मा खाजा खाएर बाहिर निस्कँदै गरेका मोटरसाइकलमा सवार जितबहादुर मोक्तानमाथि खुकुरी आक्रमण भएको थियो। चार जनाको समूहले उनको हात, ढाड र पेटमा प्रहार गरी फरार भएको थियो।

काभ्रेको रोशी गाउँपालिका–१० घर भएका मोक्तान गम्भीर घाइते भएका थिए। लामो अनुसन्धानपछि दिल्लीमा लुकेर बसेका घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको हो।

प्रतिक्रिया