दाङमा खसीकप फुटबल खेल्ने क्रममा विवाद हुँदा खुकुरी प्रहार, पाँच जना पक्राउ


दाङ – खसी कप फुटबल खेल्ने क्रममा उत्पन्न विवाद खुकुरी प्रहारमा परिणत भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेका व्यक्तिहरूमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कका १९ वर्षीय नवीन राना, तुलसीपुर–६ गोखौराका १८ वर्षीय बसन्त परियार, सोही स्थानका १८ वर्षीय राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ वर्षीय जीवन विक रहेका छन्।

तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार, भदौ १९ गते तुलसीपुर–६ स्थित महेन्द्र माविको पछाडिको चौरमा भएको खसी कप फुटबल खेल्ने क्रममा श्री सेन्टर माविका विद्यार्थी विनोद विक र बसन्त परियारबीच विवाद भएको थियो। खेल सकिएपछि वसन्त परियारको समूहले राति साढे १० बजेतिर स्याउलीबजारको बाटोमा अर्का खेलाडीहरूलाई खुकुरी प्रहार गरेको आरोप छ।

खुकुरी प्रहारबाट आयुष विक, विनोद विक र प्रवेश योगी घाइते भएका छन्। घाइतेमध्ये आयुष विक र विपिनको नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले रक्षाचौरस्थित जंगलमा लुकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएर १ थान खुकुरी, खुकुरीको दाप र फुटेको हेल्मेट बरामद गरेको जनाएको छ।

प्रतिक्रिया