विद्यालय भवन नबनाई २४ लाख हिनामिना, ११ जनाविरुद्ध मुद्दा


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माणको नाममा २४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी, इन्जिनियर, लेखापाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

हलेसी तुवाचुङ नगरपालिका–४, खोटाङस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरेमा भवन निर्माणको रकम हिनामिना भएको उजुरीमाथि अनुसन्धान गर्दा अख्तियारले भ्रष्टाचारको तथ्य उजागर गरेको हो।

अख्तियारका अनुसार, आर्थिक वर्ष २०७१/७२ मा सो विद्यालयमा चार कोठे आरसीसी भवन निर्माण गर्न जिल्ला शिक्षा कार्यालयबाट २४ लाख रुपैयाँ उपलब्ध गराइएको थियो। सो रकमसँगै २५ प्रतिशत जनश्रमदानसमेत जोड्दा कुल लागत ३० लाख रुपैयाँमा सम्झौता भएको थियो।

तर अख्तियारको स्थलगत अनुगमन र प्राविधिक प्रतिवेदनले देखाएको वास्तविकता फरक रह्यो। प्रतिवेदनअनुसार, फिल्डमा जम्मा २ लाख ७२ हजार ३२८ रुपैयाँ बराबरको मात्र काम भएको पाइएको छ। तर, मिलेमतोमा झुट्टा विवरण र गलत प्रगति प्रतिवेदन तयार पारी पटक–पटक गरी २४ लाख रुपैयाँ नै निकासा गरिएको देखियो।

अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ–
‘भवन निर्माणको काम नै नभएको अवस्थामा समेत राष्ट्रसेवक र संलग्न अन्य व्यक्तिहरूको आपसी मिलेमतोमा झुट्टा कागजात तयार पारेर भुक्तानी दिएर/दिलाएर नेपाल सरकार तथा विद्यालयलाई हानी पुर्‍याइएको तथ्य प्रमाणित भएको छ।’

प्रतिक्रिया