
रास्वपाको अनलाइन प्राइमरी इलेक्सन विवादमा
बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही क्षेत्र नम्बर–३ मा उम्मेदवार छान्न सञ्चालन गरेको अनलाइन प्राइमरी इलेक्सन विवादमा परेको छ। केही सदस्य र आकांक्षीहरूले मतदान गर्न नपाएको गुनासो पार्टी केन्द्रीय कार्यालयमा दर्ता भएका छन्।
शुक्रबारसम्म १२ घन्टामा करिब ४२ प्रतिशत मात्र मत खसेको र दुई दिनको अवधिमा जम्मा करिब ५६ प्रतिशत (१५५० हाराहारी) मत खसेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रीय सदस्यहरूमध्ये पनि आधाले मात्र मतदान गरेको देखिएको छ। सदस्यहरूले मोबाइल एप डाउनलोड गर्न नसक्ने, पासवर्ड नचल्ने, युजरनेम–पासवर्ड दोहोरिँदा समस्या देखिने, कसैको नाम प्रणालीमा नदेखिने जस्ता उजुरी दिएका छन्।
आकांक्षी पार्थिवेन्द्र उपाध्यायले पासवर्ड समस्या र एप अपडेट नगरेका कारण केहीले मत हाल्न नसकेको स्वीकार गरे तर यसले परिणाममा ठूलो प्रभाव नपार्ने बताए। अर्की आकांक्षी पुनमकुमारी अग्रवाल र अन्य नेताहरूले समेत केही वडा सभापति र कार्यकर्ताले भोट हाल्न नपाएको गुनासो आएको जानकारी दिए।
रुपन्देहीका रास्वपा सभापति डा. बुद्धि शर्माले डिजिटल भोटिङको पहिलो प्रयोग भएकाले प्राविधिक समस्या आएको स्वीकार गरे तर धाँधली भने नभएको स्पष्ट पारे। पार्टी सचिवालयले यसलाई आन्तरिक छानबिनको विषय बनाएको र परिणामलाई टुंगो लगाउन आइतबार बैठक बसेको छ।



कागजपत्र |
