कोटेश्वर गेस्टहाउसमा प्रहरीको छापा, ७० हजारसहित १० जुवाडे पक्राउ


काठमाडौं– कोटेश्वरस्थित एक गेस्टहाउसबाट प्रहरीले १० जना जुवाडे पक्राउ गरेको छ। काठमाडौँ–३२ कोटेश्वरमा रहेको लालीगुराँस गेस्टहाउसमा चलिरहेको जुवा खालमा छापा मार्दा १० जना सहित ७० हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए।

शनिबार प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा पाँचथरका विकास चेम्जोङ, राजु विश्वकर्मा, सुरेन्द्र चेम्जोङ, मोति बहादुर लिम्बु, राम बीर चेम्जोङ, केशव चेम्जोङ, रबिन चेम्जोङ, डिल्ली घिमिरे, सुनसरी धरान–१२ का दिपेन्द्र राई र तनहुँका ३७ वर्षीय भानु गुरुङ रहेका छन्।

प्रहरीले जुवा खालबाट ७० हजार नगदसहित १६ थान कौडा समेत बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर जुवा सम्बन्धी कसुरमा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।

प्रतिक्रिया