स्वर्णविन्दु प्राशन कार्यक्रम स्थगित गर्न माग


काठमाडौं – नेपाल पेडियाट्रिक सोसाइटी (नेपास)ले सरकारले सुरु गरेको ‘राष्ट्रिय स्वर्णविन्दु प्राशन कार्यक्रम’ तत्काल स्थगित गर्न माग गरेको छ । बालबालिकालाई स्वर्णभस्म/स्वर्णकल्प खुवाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने दाबी गरिएको कार्यक्रममा वैज्ञानिक प्रमाण, बाल–सुरक्षा र नियामक पारदर्शिता नआएसम्म सहमति नहुने भन्दै शुक्रबार नेपासले विज्ञप्ति जारी गरेको हो ।

नेपासले भदौ ८ गते जारी गरेको स्थिति–पत्रमा शिशुहरूमा स्वर्णकल्प खुवाउँदा प्रतिरक्षा प्रणाली बढ्छ भन्ने कुनै वैज्ञानिक आधार नभएको स्पष्ट गरेको छ । ‘‘भारी धातुबाट सम्भावित जोखिम देखिएको छ, बजारमा पाइने केही आयुर्वेदिक उत्पादनमा सिसा, पारा, आर्सेनिक जस्ता हानिकारक तत्व भेटिएको छ,’’ विज्ञप्तिमा उल्लेख छ । साथै, औषधि व्यवस्था विभागको दर्ता प्रमाणपत्र, ब्याच परीक्षण र गुणस्तरबारे जानकारी सार्वजनिक नभएसम्म यस्तो अभियान अघि बढाउन नहुने नेपासको निष्कर्ष छ ।

नेपासले पाँच बुँदे सिफारिस गर्दै स्वर्णविन्दु कार्यक्रम तत्काल स्थगित गर्न, औषधि व्यवस्था विभागले आधिकारिक धारणा सार्वजनिक गर्न, बालबालिकालाई दिने उमेरबारे स्पष्ट चेतावनी राख्न, वैज्ञानिक अनुसन्धान पश्चात मात्रै प्रयोगमा ल्याउन र स्तनपान, खोप, पोषण तथा सरसफाइ जस्ता प्रमाणित उपायमै सरकारलाई स्रोत–साधन केन्द्रित गर्न आग्रह गरेको छ ।

नेपासले अभिभावकलाई एक वर्षमुनिका शिशुलाई मह नदिन र स्वर्णभस्म/स्वर्णकल्पको ‘इम्युन बुस्ट’ दाबीप्रति सावधानी अपनाउन अपिल गरेको छ । ‘‘बालबालिकाको स्वास्थ्य बलियो बनाउन स्तनपान, समयमै खोप, उचित पोषण, स्वच्छता र उपचार नै प्रमाणित उपाय हुन्,’’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया