
पुटिनको दिसापिसाब समेत विदेशमा छोड्दैनन् उनका बडीगार्ड, कारण यस्तो
काठमाडाैं- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेश यात्राका क्रममा दिसापिसाब समेत आफ्नै सुटकेसमा राखेर फर्कने गरेका छन् भन्ने खुलासा भएको छ। पछिल्लो अमेरिकी भ्रमणका क्रममा अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तीन घण्टे बैठकमा सहभागी भएका बेला पनि पुटिनले “पूप सुटकेस” अर्थात् दिसा–पिसाब राख्ने विशेष ब्याग आफ्ना बॉडीगार्डमार्फत बोकेरै आएका थिए।
फ्रान्सका खोज पत्रकार रेबिस गेन्ते र मिखाइल रुबिनको दाबीअनुसार पुटिनको “ह्युमन वेस्ट” सङ्कलन गर्ने जिम्मा रूसी फेडरल प्रोटेक्सन सर्भिसका बडीगार्डलाई दिइन्छ। ती बॉडीगार्डसँग विशेष थैली हुन्छ, जसमा पुटिनले विदेशमा गरेको दिसा–पिसाब जम्मा गरी तुरुन्तै रूस पठाइन्छ।
किन गर्छन् यस्तो ?
यो खबर सुन्दा अचम्म लाग्न सक्छ तर यसअघि पनि यस्ता तथ्य सार्वजनिक भएका छन्। रिपोर्टअनुसार ७२ वर्षीय पुटिन आफ्नो स्वास्थ्यको विवरण कसैलाई थाहा नहोस् भन्ने चाहन्छन्। चिकित्सकीय दृष्टिले मानिसको मल–मूत्रबाट विभिन्न रोग, विशेष गरी न्यूरोलोजिकल वा क्यान्सरसम्बन्धी रोगको संकेत पत्ता लाग्न सक्छ। यही कारणले पुटिन विदेशमा आफ्नो दिसापिसाब छोड्न नचाहने बताइएको छ।
सन् २०१७ मा फ्रान्स भ्रमणका क्रममा पुटिनले पोर्टेबल टायलट प्रयोग गरेको र कुनै पनि सार्वजनिक वा सरकारी शौचालय प्रयोग नगरेको तथ्य बाहिरिएको थियो। त्यस्तै भियना भ्रमणताका पनि उनले आफ्नै “पोर्टेबल वेस्ट ब्याग” प्रयोग गरेको पुष्टि भएको थियो। एक पूर्व बीबीसी पत्रकार फरिदा रुस्तामोभाले पुटिनले सन् १९९९ देखि नै यस्तो अभ्यास गर्दै आएको दाबी गरेकी छिन्।
पछिल्ला वर्षहरूमा पुटिनको स्वास्थ्यबारे थुप्रै अड्कल–कुचल चलेका छन्। अमेरिकी मिडिया एक्सप्रेस यूएसको रिपोर्टअनुसार पुटिनलाई पार्किन्सन रोग वा अन्य गम्भीर न्यूरोलोजिकल समस्या भएको हुनसक्छ।
२०२३ मा बेलारुसका राष्ट्रपति सँगको भेटमा समेत पुटिनलाई शरीरमा झट्का लागेको भिडियो सार्वजनिक भएको थियो। यद्यपि क्रेमलिनले भने यी सबै दावीलाई खारेज गर्दै पुटिन स्वस्थ रहेको बताउँदै आएको छ।



कागजपत्र |
