
राज्य व्यवस्था समितिको सभापति : कांग्रेसमा दबाब, बडूको नाम अगाडि
काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको अनौपचारिक बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दै छ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई समेत बोलाइएको छ । समितिको सभापति पद खाली भएपछि पार्टीले कसलाई अघि सार्ने भन्ने विषयमा यो बैठक निर्णायक हुने कांग्रेस स्रोतले जनाएको छ ।
कुलिङ पिरियडसम्बन्धी विवादकै बीच २८ साउनमा कांग्रेस सांसद रामहरि खतिवडाले समितिको सभापति पदबाट राजीनामा दिएपछि पद रिक्त भएको हो । नियमावलीअनुसार रिक्त पदमा १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने कानुनी व्यवस्थाले कांग्रेसलाई तत्काल निर्णयमा पुग्न बाध्य बनाएको छ ।
सभामुख देवराज घिमिरेले आइतबार राजनीतिक दलहरूसँग छलफल गर्दै नयाँ सभापति चयन प्रक्रिया अगाडि बढाउने प्रयास गरेका थिए । तर दिनभरको संवादमै पनि सहमति जुट्न नसकेपछि प्रक्रिया स्थगित भएको हो ।
राज्य व्यवस्था समितिमा कांग्रेसबाट सांसद अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, हृदयराम थानी, पूर्णबहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य छन् ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सांसद दिलेन्द्रप्रसाद बडूलाई सभापतिको उम्मेदवारका रूपमा पार्टी सभापति देउवालाई सिफारिस गरेका छन् । उनले बडूलाई सभापति बनाउन देउवालाई आग्रहसमेत गरेका छन् । तर बडूले आफू आकांक्षी नभएको तर जिम्मेवारी आएमा स्वीकार गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।



कागजपत्र |
