
कविराज कटुवालको अपराधिक साम्राज्य: मिटरब्याजीदेखि सुन लुटपाटसम्म !
काठमाडौं – यही भदौ ४ गते जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ का कविराज कटुवाललाई पक्राउ गर्यो। उनी अनुचित लेनदेन (मिटरब्याजी) को आरोपमा पक्राउ परेका थिए।
कटुवालले सिन्धुपाल्चोकका एक पीडितलाई एक करोड ४० लाख रुपैयाँ ऋण दिएका थिए र पीडितले चार करोड ८६ लाख रुपैयाँ फिर्ता गर्न थालेपछि धम्की दिँदै थप रकम मागेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो।
बडी बिल्डरसमेत रहेका कटुवालले गत साउन २२ गते पीडितको बा२०च ५२० नम्बरको क्रेटा गाडी कब्जा गरेको र धम्की दिँदै ५ लाख ५० हजारको चेक समेत लिएको आरोप छ।
अनुसन्धानमा प्रहरीले पत्ता लगाएको छ कि कटुवालले प्रत्यक्ष नगद मात्र नभई विभिन्न आठजनाको बैंक खातामार्फत समेत रकम असुलेका थिए। एभरेष्ट बैंक, कुमारी बैंक, सिद्धार्थ बैंकलगायतका वित्तीय संस्थामा उनका करोडौं रुपैयाँ डिपोजिट रहेको देखिएको छ।
कटुवालविरुद्ध अनुचित लेनदेन सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ। ललितपुर परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले पीडित युवकको दाबी अनुसार प्रमाण हेर्ने र फेरि म्याद थप गरेर कटुवालसँग बयान लिने काम जारी राख्ने बताए।
कटुवाल प्रहरीका हाकिमदेखि सिपाहीसम्म, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटघाट गरेर फोटो खिच्ने र ती फोटो सामाजिक सञ्जालमा पोस्ट गरी सर्वसाधारणलाई तर्साउने खेल खेल्दै आएका थिए। टिकटक खातामा एक लाखभन्दा बढी फलोअर बनाएका उनले त्यहाँ पनि उच्च पदस्थ व्यक्तिसँग भिडियो खिचेर पोस्ट गर्ने गरेका थिए। हाइ प्रोफाइल व्यक्तिसँगको तस्बिर तथा भिडियो देखाएर आफू शक्तिशाली र ‘ठूला मान्छेसँग’ मिलेको झल्को दिने उनको शैली थियो।
हाल मिटरब्याजीको आरोपमा पक्राउ परेका कविराज कटुवालको अपराधको ‘कुण्डली’ लामो छ।
सुन ल्याउनेलाई ट्र्याक गरेर लुट्ने गिरोहका नाइके
कविराज कटुवाल लामो समयदेखि विमानस्थल हुँदै आउने सुनबारे सूचना टिप्ने र त्यसलाई लुट्ने समूहसँग जोडिएको देखिन्छ। प्रहरी अनुसन्धानका अनुसार, उनले प्रहरी वर्दीमै कार्यरत व्यक्तिसँग मिलेर सुन लुट्ने योजना समेत बनाएका थिए।
संयुक्त अरब इमिरेट्स (युएई) बाट आएको १ किलो सुन लुटपाटमा उनी नै ‘मास्टरमाइन्ड’ रहेको बताइन्छ। कटुवालले विदेशबाट सुन बोकेर आउने व्यक्तिबारे अघिबाटै जानकारी लिने र त्यसलाई आफू निकटका प्रहरीलाई दिने गर्थे। त्यसपछि प्रहरी टोली विमानस्थलमै पुग्थ्यो। खानतलासीमा सुन भेटेपछि ‘फर्जी अनुसन्धान’को नाममा सुन गायब हुन्थ्यो।
वर्षा लामाको सुन, कटुवालको खेल?
दुबईमा बस्दै आएकी वर्षा लामा भरियामार्फत नेपालमा सुन पठाउने मुख्य व्यक्ति थिइन्। तर, उनको सुन बारम्बार विमानस्थलमै लुटिन्थ्यो। सुन बोकेका भरियाहरूले आफैं सूचना चुहाउने र त्यसको लाभ कटुवालजस्ताले उठाउने प्रहरी अनुसन्धानले देखाएको छ।
एकपटक वर्षा लामाले लुटिएको सुन फिर्ता लिन ५० लाख रुपैयाँ लिएर आएकी थिइन्। तर, कटुवाल र उनी नजिकका प्रहरी टोलीले वर्षा लामालाई नियन्त्रणमा लियो। खानतलासीमा ५० लाख रुपैयाँ भेटियो र उनलाई हुण्डी कारोबारी भनेर झुटा आरोप लगाइयो। तर वास्तविकता अर्कै थियो। उनको सुन लुटिएको थियो र त्यसको बदलामा पैसा लिएर सुन फिर्ता गर्ने सम्झौताअनुसार उनी आएकी थिइन्।
यसरी कविराज कटुवाल केवल मिटरब्याजीमा मात्र होइन, सुन लुटपाटजस्ता उच्चस्तरीय आपराधिक धन्दामा पनि संलग्न थिए। प्रहरीका हाकिमहरूसँग फोटो खिचेर आफूलाई ‘अछाम्य’ देखाउने उनको शैलीले प्रश्न उब्जाएको छ, के साँच्चै प्रहरीभित्रै पनि कटुवालको जालो फैलिएको त छैन ?



कागजपत्र |
