
वीरगन्जमा हैजा फैलियो : दुई दिनमै १० जना संक्रमित
वीरगन्ज- वीरगन्जमा हैजा (कोलेरा) को प्रकोप बढ्दै गएको छ। शुक्रबार ३ जनामा पुष्टि भएको यो रोग शनिबार थप ७ जनामा देखिएसँगै संक्रमितको संख्या १० पुगेको छ। नारायणी अस्पतालमा झाडापखालाका १५ बिरामीमध्ये ८ जनाको परीक्षण गर्दा ५ जनामा हैजा पोजेटिभ देखिएको हो। ती सबै वीरगन्ज महानगरपालिका–१२ मुर्ली टोलका रहेका छन्। यस्तै, अर्को अस्पतालमा उपचाररत वडा नम्बर ११ र १३ का २ जनामा पनि संक्रमण पुष्टि भएको छ।
वीरगन्जका अस्पतालहरूमा पछिल्ला दुई दिनदेखि झाडापखालाका बिरामीहरूको चाप बढिरहेको छ। वीरगन्ज हेल्थ केयर हस्पिटलमा मात्रै १३ जना शंकास्पद बिरामी उपचाररत छन्, जसमा ३ जनाको अवस्था गम्भीर छ। यसैबीच, शुक्रबार झाडापखालाका कारण ल्याइएका १९ वर्षीया युवती र ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। तर उनीहरूको मृत्यु हैजाकै कारण हो वा होइन भन्ने पुष्टि भने हुन बाँकी छ।
संक्रमण फैलिन थालेपछि वीरगन्ज महानगरले शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मी परिचालन गरेको छ। मेयर राजेशमान सिंहको निर्देशनमा टोली प्रभावित क्षेत्रमा पुगेर अवस्था बुझ्न, स्थानीयलाई सतर्क गराउन र पिउने पानीको नमुना संकलन गर्न सक्रिय भएको छ। संकलित नमुना थप परीक्षणका लागि काठमाडौँस्थित टेकु प्रयोगशालामा पठाइएको जनाइएको छ।
जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्ला १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको हो। दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने भिब्रियो कोलेरी जीवाणु नै हैजाको कारण हो। यसको लक्षणमा लगातार झाडापखाला, वान्ता, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने तथा ज्वरो आउने देखिन्छ। समयमै उपचार नगरेमा मृत्युको जोखिमसमेत रहन्छ।



कागजपत्र |
