
८६ लाख ब्लड मनी बुझाएर दुबईको जेलबाट घर फर्किए युवराज
सल्यान- सल्यान त्रिवेणी गाउँपालिका–६ का ३५ वर्षीय युवराज थापा दुबईको जेलबाट मुक्त भई स्वदेश फर्किएका छन्। ब्लड मनीका लागि आवश्यक ८६ लाख रुपैयाँमध्ये ८१ लाख देश–विदेशका नेपालीहरूले संकलन गरी सहयोग गरेपछि उनी घर फर्किन सफल भएका हुन्। बाँकी रकम परिवारले जुटाएको थियो।
गाउँपालिका र वडा कार्यालयले उनलाई मंगलबार औपचारिक स्वागत गर्दै दीर्घ जीवनको शुभकामना दिएको छ। आगामी बिहीबार छत्रेश्वरी गाउँपालिकामा आयोजित तीज विशेष कार्यक्रममा थापालाई सार्वजनिक रूपमा सम्मान गरिने तयारी छ।
थापामाथि २०२३ मा दुबईस्थित एक होटलमा ड्युटीका क्रममा कङ्गोका नागरिकको मृत्यु भएपछि लापरबाहीको मुद्दा दायर भएको थियो। अदालतले ब्लड मनी तिर्न आदेश दिएपछि उनी जेल परेका थिए।
घर फर्केपछि युवराजले आफूलाई बचाउन सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै बाँकी जीवन समाज र परिवारकै सेवामा समर्पित गर्ने प्रतिज्ञा गरेका छन्।
उनकी पत्नी अञ्जली केसी थापाले देश–विदेशका नेपालीको एकताको कारण जीवनमा खुसी फर्किएको बताइन् भने ५१ वर्षीया आमा शारदा थापाले छोराको मुक्ति आफ्नो जीवनकै ठूलो खुसी भएको भन्दै सबैलाई धन्यवाद दिइन्।



कागजपत्र |
