देउवाको हातबाट सदस्यता, २४ घण्टापछि विदाई


काठमाडौं- सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका प्रतिवादी देवेन्द्र यादवलाई दिइएको नेपाली कांग्रेसको पार्टी सदस्यता २४ घण्टामै खारेज गरिएको छ।

शुक्रबार दिउँसो नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवको सदस्यता खारेज भएको जानकारी दिएका हुन्।

विज्ञप्तिअनुसार यादवलाई पार्टी सदस्यता सभापति शेरबहादुर देउवाको कक्षमा आएर दिलाइएको थियो। तर, उनीमाथि फौजदारी कानूनी कारबाहीको प्रक्रिया चलिरहेको थाहा पाएपछि कांग्रेसले तुरुन्त सदस्यता खारेज गरेको जनाएको छ।

“निज व्यक्ति उपर फौजदारी कानूनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ । साथै, कानूनी कारबाहीको प्रक्रिया सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको छ,” मुख्यसचिव पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन्।

यादवको नाम लामो समयदेखि प्रहरीको फरार सूचीमा छ। उनको मुद्दा हाल महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा रहेको छ।

गएको बिहीबार मात्रै सभापति देउवा र महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंस्थित पार्टी कार्यालयमा यादवलाई पार्टीमा स्वागत गरेका थिए। तर, हत्या अभियोगको कुरा सार्वजनिक भएपछि कांग्रेस नेतृत्वले तत्काल निर्णय फिर्ता लिएको हो।

528999675_2111345262607354_1020742417630335061_n-1755259930.png

प्रतिक्रिया