
चक्रे मिलन समूहको गाडीबाट खुकुरी, पेपर स्प्रे र रड बरामद
काठमाडौं- काठमाडौंको महाराजगञ्जस्थित होटल साम्बालामा जन्मदिनको पार्टी गरिरहेका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ समूहका ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले बिहीबार साँझ होटलमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चक्रे मिलन आफ्नो जन्मदिन मनाउन दर्जनौँ लावालस्करसहित होटल साम्बालाको भिल्ला (छत) क्षेत्रमा पुगेका थिए। त्यहाँ ‘उदण्ड क्रियाकलाप’ सुरु भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले समूहलाई पक्राउ गर्दै प्रयोगमा आएका सवारी साधनहरूको पनि चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा एक गाडीबाट दुई थान खुकुरी, एक थान पेपर स्प्रे र केही रडहरू बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजी कुमार आचार्यले जानकारी दिए। पक्राउ परेकाहरूले ती वस्तुहरू आत्मरक्षाका लागि राखिएको दाबी गरेका छन्।
पक्राउ परेकामध्ये धेरैजसो चक्रे मिलनसँग पहिले पनि सम्बन्धित आपराधिक घटनाहरूमा संलग्न रहँदै आएका व्यक्ति रहेको प्रहरीको भनाइ छ। हाल उनीहरूलाई काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ।
चक्रे मिलन समूहले गाडीको लावालस्करसहित बाटोसमेत अवरुद्ध गरी स्कर्टिङ गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको निगरानी बढेको थियो। त्यसैको आधारमा बिहीबार राति टेकु र भद्रकालीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटनासँग सम्बन्धित फेला परेका हतियारबारे कानुनी प्रक्रिया अगाडि बढाउनेबारेमा अहिले प्रहरी आन्तरिक छलफलमा जुटिरहेको छ।



कागजपत्र |
