
माछापोखरीमा महिलाको सिक्री लुट्ने दुई लुटेरा पक्राउ
काठमाडाैं- गलामा लगाइएको सुनको सिक्री लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८, जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन्। उनीहरूले माछापोखरी क्षेत्रबाट एक महिलाको गलामा लगाइएको सिक्री लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले जानकारी दिए।
घटना शनिबार साँझ भएको हो। प्रहरीले दिएको जानकारी अनुसार, ती महिलाको २ तोला २५ लाल सुनको सिक्री लुटिएको थियो, जसको बजार मूल्य करिब ४ लाख ३८ हजार रुपैयाँ बराबर पर्छ।
घटनापछि सक्रिय रूपमा खोजी थालेको प्रहरीले शनिबार राति १२:३२ बजे माछापोखरी क्षेत्रबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो। बालाजु प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ।
पक्राउ परेकाहरूमाथि अनुसन्धानका लागि आवश्यक कारबाही अघि बढाइएको छ। उनीहरूको साथबाट लुटिएको एक थान सुनको सिक्री र दुई थान मोबाइल फोन पनि बरामद गरिएको छ।



कागजपत्र |
