चितवनमा लोडसेडिङ होइन, मर्मतका कारण बत्ती गएको हाे: हितेन्द्र शाक्य


काठमाडाैं- चितवनमा लोडसेडिङ सुरु भएको भन्ने समाचारमा कुनै सत्यता नरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले स्पष्ट पारेका छन्।

आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले चितवनमा विद्युत् आपूर्ति रोकिनु केवल मर्मत कार्यका लागि भएको भन्दै त्यसलाई लोडसेडिङ भनेर गलत ढंगले व्याख्या गरिएको बताए।

उनका अनुसार चितवनस्थित सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने कार्य भइरहेको छ, जसका कारण आइतबार र सोमबार केही घण्टाका लागि विद्युत् आपूर्ति अवरुद्ध गरिएको हो। शाक्यले भने, “पुराना कन्डक्टरहरूले बढ्दो लोड थेग्न नसक्ने अवस्था आएकोले नयाँ कन्डक्टर राख्न लागिएको हो। विद्युत् क्षमता बढ्दा पुरानो नेटवर्कले धान्न नसक्दा समस्या देखिएको हो।”

यद्यपि, नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले भने ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। वितरण केन्द्रले जारी गरेको सूचनामा हाल अत्यधिक गर्मी र रोपाइँको समयमा पानी नपरेका कारण सिँचाइका ग्राहकको लोड अत्यधिक बढेकाले नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर, र जगतपुर-रामपुर फिडरमार्फत आपूर्ति हुने क्षेत्रमा लोड कटौती गर्नुपरेको उल्लेख गरिएको छ।

भरतपुर १३२/३३ केभी सबस्टेशनबाट जोडिएको ३३ केभी डग कन्डक्टर तारमा अधिकतम ३०० एम्पिएरसम्ममात्रै विद्युत् प्रवाह गर्न मिल्ने भए पनि हाल ४५० एम्पिएरसम्म लोड जाँदा तारले थेग्न नसकेपछि आपूर्ति कटौती गर्नुपरेको वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया