रसुवामा हत्कडीसहित फरार थुनुवा चार घण्टामै पक्राउ


नुवाकोट- हत्कडी लगाइएको अवस्थामा फरार भएका दुई थुनुवालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। त्रिशूली २१६ मेगावाटको निर्माणाधीन जलविद्युत् आयोजनाबाट कवाडी सामान चोरेको आरोपमा पक्राउ परेका उनीहरू अस्थायी प्रहरी पोष्ट मैलुङबाट सोमबार फरार भएका थिए।

पक्राउ परेकामध्ये ट्रिपर चालक २० वर्षीय सुमन उर्फ छिरिङ तामाङ रसुवाको उत्तरगया गाउँपालिका–२, सिम्लेका हुन् भने सहचालक २५ वर्षीय तनबीर पुन मगर प्युठानको गौमुखी गाउँपालिका–३ का हुन्। दुवै जना हाइड्रोपावरमै कार्यरत थिए।

हत्कडीसहित फरार भएका उनीहरूलाई चार घण्टाभित्रै पुनः नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। प्रहरीले उनीहरूलाई मंगलबार डाँडागाउँको सिम्ले क्षेत्रबाट पक्राउ गरेको हो।

उनीहरू गत सोमबार पनेरुको कमाण्डमा रहेको प्रहरी टोलीले चेकजाँचको क्रममा हाइड्रोपावरबाट चोरेर ल्याउँदै गरेको पाँचसय किलोग्राम तौल बराबरको कवाडी सामानसहित नियन्त्रणमा लिएको थियो। उनीहरूलाई पक्राउ गर्दा पावर चाइना कम्पनीको आइचर गाडी (बाप्र.०१००४क१२७९) प्रयोग भएको पाइएको छ।

सामानसहितको गाडी र चोरेको सामान अस्थायी प्रहरी पोष्ट मैलुङमा राखिएको छ भने पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुन्चे, रसुवा लगिएको छ।

प्रतिक्रिया