स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्तिहरूलाई अवैध रूपमा पठाएको आरोपमा गृह मन्त्रालयले गम्भीर रूपमा अनुसन्धान सुरु गरेको छ।

गृहमन्त्री रमेश लेखकले सोमबार बिहान गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई तत्काल छानबिन थाल्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीको टोलीबाहेक स्पेन गएका अन्य ५५ जना नेपालीहरू हालसम्म नफर्किएको दाबी सार्वजनिक भएपछि गृह मन्त्रालय सक्रिय बनेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा उठाएको आरोपपछि अनुसन्धान सुरु गरिएको हो। सांसद गौतमले प्रधानमन्त्रीको टोलीसँगै स्पेन गएका तर अझै नफर्किएका ५५ जनाको नामावली र आवश्यक कागजातहरू समेत सार्वजनिक गरेकी थिइन्।

गृहमन्त्री लेखकले उक्त विषयमा निष्पक्ष र विस्तृत छानबिन गर्न निर्देशन दिँदै भनेका छन्, “प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डल बाहेक स्पेन को-को गए? कुन विधि र प्रक्रियाबाट गए? कसले भिसाको व्यवस्था गर्‍यो? भन्ने विषयमा पूर्ण अनुसन्धान हुन्छ।”

अनुसन्धानको जिम्मा प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो  र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई दिइएको छ। गृह मन्त्रालयले अनुसन्धानका क्रममा दोषी पाइए कानुनी कारबाही हुने स्पष्ट पारेको छ।

प्रधानमन्त्री ओली गत १४ असारमा स्पेन भ्रमणमा गएका थिए।

प्रतिक्रिया