
सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १५ करोडभन्दा बढी अनियमितता आरोप
काठमाडौं- राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।
गुरुयोजना बिना मिलेमतोमा केन्द्रको हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरिद प्रक्रिया अघि बढाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको अनियमितता भएको दाबीसहित सोही रकम बिगो माग गरिएको छ।
प्रतिवादीहरूमा तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, वर्ल्ड डिस्ट्रीब्युसन नेपाल प्रालि र उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठ छन्।
आयोगले उनीहरूलाई योजना तयार नगरी आपसी मिलेमतोमा खरिद प्रक्रिया अघि बढाई आर्थिक अनियमितता गरेको आरोप लगाएको छ।



कागजपत्र |
