
सुर्खेतमा ८ लाखकाे अफिमसहित एकजना पक्राउ
सुर्खेत – सुर्खेत प्रहरीले पाँच किलोभन्दा बढी अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्राप्त गोप्य सूचनाका आधारमा निगरानी गर्दा बुधबार साँझ करिब ६:३० बजे भेरीगंगा नगरपालिका–१० स्थित तालबारीमा अफिम कारोबार भइरहेको थाहा पाएपछि प्रहरी टोली खटिएको थियो।
जाँचको क्रममा बस्नेतको झोलाभित्र लुकाएर राखिएको ५ किलो ५४० ग्राम गिलो अफिमजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुधीर राज शाहीले जानकारी दिए।
बस्नेतको साथबाट एक थान डिजिटल तराजु, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका ५ थान चेक धितो र नगद ४ हजार ७३० रुपैयाँ पनि बरामद गरिएको छ। उनीमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३, दफा १४, उपदफा ६(घ) अनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
बरामद अफिमको बजार मूल्य करिब ८ लाख ८६ हजार ४ सय रुपैयाँ रहेको र प्रतिकिलो मूल्य १ लाख ६० हजार रुपैयाँ अनुमान गरिएको छ।



कागजपत्र |
