
त्रिभुवन विमानस्थलको अध्यागमन क्षेत्रमा खादा, माला र पहिचानजन्य पोसाकमा प्रतिबन्ध
काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा खादा, माला तथा कुनै संस्था वा समूहको परिचय खुल्ने पोसाक र सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। विमानस्थलको अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यो निर्णय गरेको हो।
सूचनामा भनिएको छ कि अध्यागमन क्षेत्र सुरक्षा दृष्टिले अत्यन्त संवेदनशील भएकाले यस्ता सामग्रीले प्रक्रिया ढिलो बनाउने र सुरक्षा जोखिम बढाउने सम्भावना रहेकाले प्रतिबन्ध लगाइएको हो।
नयाँ नियमअनुसार सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीहरूका लागि खादा, माला वा अन्य सजावटी वस्तु (accessories) प्रयोग गर्न नपाइनेछ। साथै, कुनै संस्थाको नाम झल्काउने टोपी, ब्याच, पोसाक वा अन्य पहिचानजन्य सामग्री पनि निषेध गरिएको छ।
यस्ता वस्तुले विशेष व्यवहारको संकेत दिने वा समानतामा प्रश्न उठाउने अवस्था सृजना हुन सक्ने भएकाले सबैलाई निष्पक्ष र एकरूप व्यवहार सुनिश्चित गर्न नयाँ नियम लागू गरिएको अध्यागमन कार्यालयले जनाएको छ।
कार्यालयले सबै यात्रु, ट्राभल एजेन्सी तथा सम्बन्धित पक्षलाई नयाँ नियमको पालना गर्न अनुरोध गर्दै, उल्लङ्घन भए कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।




कागजपत्र |
