एसपीलाई गाली गर्ने पूर्वसांसदको आपत्तिजनक अभिव्यक्ति- ‘मधेश नेपालबाट अलग हुन्छ’


काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वसांसद अशोक यादवले नेपालबाट मधेश अलग हुनुपर्ने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका छन्। नेपाल प्रहरीबाट लुके बसेका यादवले एक भिडियो सन्देशमार्फत आफूलाई आन्दोलनकारीको रूपमा प्रस्तुत गर्दै भारतसँग सहयोगको याचना गरेका छन्।

हिन्दी भाषामा सार्वजनिक भिडियोमा यादवले भनेका छन्, “मधेश आज नभए भोलि नेपालबाट अलग हुन्छ — म रहुँ वा नरहुँ।” उनले आफूमाथि नेपालमा शोषण र दमन भएको आरोप लगाउँदै भारतको बिहार राज्य सरकार तथा प्रहरी प्रशासनसँग नेपालले मागे पनि कुनै कारबाही नचलाउन अपिल गरेका छन्।

भिडियोमा यादवले “जय बिहार, जय नेपाल, जय भारत” भन्दै आफ्नो सन्देश सुरू गरेका थिए। सर्लाहीका तत्कालीन एसपी योगेन्द्र खड्कालाई धम्की दिएको प्रकरणपछि फरार रहेका यादवले आफू श्रीराम र जानकीको धरोहर भएको दाबी गर्दै “नेपालका एसपीको आधारमा कुनै कारबाही नगर्न” बिहारका प्रहरी अधिकारीहरूलाई अनुरोध गरेका छन्।

उनले नेपालमा मधेशीहरूलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरिएको, नागरिकता नदिइएको र खसवादी चिन्तनले शासन गरिएको आरोप लगाएका छन्। यादवले भनेका छन्, “बिहारका छोरीहरू जसको बिहे नेपालमा हुन्छ, उनीहरूका बच्चालाई नागरिकता नदिइने नीति छ। म यही अन्यायविरुद्ध लडिरहेको छु।”

सर्लाहीका प्रहरी अधिकृतहरूविरुद्ध ‘गुण्डागर्दी’, ‘कमिसन असुली’ र ‘अपमानजनक व्यवहार’ गरेको आरोप समेत लगाउँदै यादवले प्रहरीलाई आफ्ना आफन्तको घरमा छापा मारेको दाबी पनि गरेका छन्।

नेपाल प्रहरीले सार्वजनिक रूपमा यादवको खोजी जारी राखेको छ। यसैबीच, उनी खुलेर भारत सरकारसँग राजनीतिक शरण र समर्थनको माग गर्दै नेपालमा ‘मधेश विद्रोह’ दोहोरिने संकेतसमेत दिएका छन्।

 

प्रतिक्रिया