अबका आइफोनमा नग्न भएर भिडियो कल गर्न नमिल्ने


काठमाडौं — अब आइफोनमा नग्न अवस्थाको भिडियो कल गर्न नमिल्ने भएको छ। एप्पलले फेसटाइम भिडियो कलका क्रममा नग्नता देखिएमा कललाई स्वतः पज गर्ने नयाँ फिचर विकास गरिरहेको छ।

यो सुविधा कम्पनीको आउँदै गरेको अपरेटिङ सिस्टम आईओएस २६ मा उपलब्ध हुनेछ। हाल यो फिचर डेभलपरका लागि जारी गरिएको आईओएस २६ डेभलपर प्रिभ्यु भर्सन मा परीक्षणरत अवस्थामा छ।

सामाजिक सञ्जाल एक्समा ‘iDeviceHelp’ नामक प्रयोगकर्ताले उक्त फिचरको स्क्रिनशटसहित जानकारी सार्वजनिक गरेका छन्। उनका अनुसार भिडियो कलमा नग्नता पहिचान भएमा स्क्रिनमा चेतावनी देखिन्छ, “तपाईंले संवेदनशील सामग्री देखाइरहनु भएको हुनसक्छ, अडियो र भिडियो पज गरिएको छ।” त्यसपछि प्रयोगकर्तालाई कल काट्ने वा कल पुनः सुरु गर्ने विकल्प दिइन्छ।

यो फिचर प्रारम्भमा बालबालिकाका लागि डिजाइन गरिएको ‘फेमिली टूल’ को हिस्सा भए पनि परीक्षणका क्रममा यो वयस्क प्रयोगकर्ताको अकाउन्टमा पनि सक्रिय भएको पाइएको छ।

टेस्टिङ भर्सनमा यस फिचरलाई अन/अफ गर्न मिल्ने सेटिङ भए पनि अफ गरे पनि फिचर सक्रिय रहनु कुनै प्रणालीगत कमजोरी हुनसक्ने अनुमान गरिएको छ।

यसले गोपनीयता सम्बन्धी चिन्ता पनि उब्जाएको छ। एप्पलले प्रयोगकर्ताको भिडियो कल स्क्यान गर्छ कि भन्ने आशंका उठेको छ। तर एप्पलका अनुसार नग्नता पहिचान प्रक्रिया प्रयोगकर्ताको डिभाइसभित्रै सीमित हुन्छ, र कम्पनीले कुनै डेटा हेर्ने वा पठाउने अनुमति लिँदैन।

आईओएस २६ हाल डेभलपर संस्करणमा छ र यसको पब्लिक बीटा यही महिनाभित्र आउन सक्ने अनुमान छ। अन्तिम संस्करण भने सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। कुन स्तरको नग्नताले भिडियो पज गराउँछ भन्ने प्रष्ट नभए पनि परीक्षणका क्रममा त्यसमा सुधार गरिने एप्पलले जनाएको छ।

प्रतिक्रिया