एसपीलाई धम्क्याएको आरोपमा जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको छ।

सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत धम्क्याएको आरोपमा अपराधिक उपद्रवको कसुरमा शुक्रबार अदालतले पक्राउ आदेश दिएको हो। प्रहरीले यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने तयारी गरिरहेको जनाएको छ।

हालै सार्वजनिक भएको एक अडियोमा यादवले एसपी खड्कालाई अपशब्द प्रयोग गर्दै “तराई लुट्न आएको लुटेरा” भन्दै गाली गरेका थिए। उनीहरूले रातको समयमा भौतिक पूर्वाधार कार्यालयमा सुरक्षा दिएको विषयमा प्रश्न उठाउँदै प्रहरीले लुटतन्त्रमा साथ दिएको आरोप लगाएका थिए।

प्रहरीका अनुसार, यसअघि पनि यादवले प्रदेश सरकारका एक मन्त्रीलाई धम्कीपूर्ण सन्देश पठाएका थिए। ती सन्देशहरूलाई पनि प्रहरीले अनुसन्धानका लागि प्रमाणको रूपमा लिने तयारी गरेको छ।

“उहाँ सधैं विवादमा आउनुहुन्छ, यसपटक पनि प्रहरीलाई अपमानजनक शब्द प्रयोग गर्नुभएको छ,” एक मधेस प्रदेश प्रहरी अधिकारीले भने, “जिल्ला प्रशासन कार्यालयको निर्देशनमा सुरक्षा दिइएको थियो, तर उहाँलाई त्यसमा आपत्ति छजस्तो देखिन्छ।”

प्रहरीले यादवमाथि यस्तै प्रकृतिका अन्य घटनाहरूको प्रमाण पनि संकलन गरिरहेको र थप कारबाहीको तयारी गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया