जापानमा नेपाली बाबुछोराद्वारा प्रसिद्ध खेलाडीको नाममा ठगी


काठमाडौं- जापानको टोकियोमा नेपाली बाबुछोराले प्रसिद्ध बेसबल खेलाडी ओहतानी शोहेईको नाम र तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमार्फत एक वृद्धालाई ठगी गरेका छन् । उनीहरूलाई ८० वर्षीया महिलाबाट १० लाख येन (साढे ९ लाख नेपाली रुपैयाँभन्दा बढी) ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४४ वर्षीय बुबा र २६ वर्षीय छोरा रहेका छन् । उनीहरूलाई जापानी प्रहरीले जुन २४ मा नियन्त्रणमा लिएको निप्पोन न्युज २४ जापान ले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले सुरुमा ओहतानीको फोटो प्रयोग गरेर नक्कली फेसबुक आईडी बनाएर वृद्धालाई फ्रेन्ड रिक्वेस्ट पठाए । त्यसपछि ‘लाइन’ एप प्रयोग गरेर आफूलाई ओहतानी भनेर चिनाउँदै वृद्धासँग संवाद बढाएका थिए ।

आफू “विश्वकै उत्कृष्ट खेलाडी” भएको भन्दै उनीहरूले वृद्धालाई झुक्याउँदै भनेका थिए, “मेरो बीमा शुल्क धेरै छ, म करोडौं येन तिर्छु तर अझै अपुग छ, कृपया १० लाख येन सहयोग गर्नुहोस् ।”

विश्वास दिलाउन उनीहरूले वृद्धालाई “टोकियो आउँछु र पैसा फिर्ता गर्छु” भन्ने झुटो आश्वासनसमेत दिएका थिए । त्यसपछि छोरा वृद्धाको अपार्टमेन्टमै पुगेर सो रकम नगद रूपमा बुझेका थिए ।

प्रहरीले उनीहरूले वृद्धाबाट थप रकम पनि ठगेको हुन सक्ने आशंका गरेको छ । पक्राउ परेका बाबुछोराले ठगीको आरोप स्वीकार गरिसकेको प्रहरीको भनाइ छ ।

पीडित वृद्धाले वार्षिक १५.१ अर्ब येन आम्दानी गर्ने ओहतानीले सानो रकम सहयोग माग्नु अस्वाभाविक भएको महसुस गरेपछि प्रहरीमा उजुरी दिएकी थिइन् ।

 

प्रतिक्रिया