
गोरखाको थुमीबाट हराएका वृद्ध तीन दिनपछि मृत फेला
गोरखा- गोरखाको थुमीबाट हराएका एक वृद्ध तीन दिनपछि मृत फेला परेका छन् ।
मृतक आरुघाट गाउँपालिका-४ थुमी धारश्वारा बस्ने ७१ वर्षीय क्षेत्र बहादुर थापा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार थापाको मृत शरीर सोही ठाउँस्थित गुइखोला (खहरे) दोभानमा मंगलबार फेला परेको हो ।
असार १६ गते साँझ ७ बजे चप्पल किन्न भनेर घरबाट निस्किएका उनी राति अबेरसम्म पनि नआएपछि आफन्त र स्थानीयले खोजी गरेका थिए । असार १७ गते आरुघाट ईलाका प्रहरी कार्यालयमा थापा हराएको विषयमा आफन्तले उजुरी समेत दिएका थिए ।
मृत्तकका आफन्त, स्थानीय र प्रहरीको खोजीमा मंगलबार बिहान ८:३० बजे दोभानमा मृत्त अवस्थामा फेला परेको सूचना अधिकारी सुवेदीले बताए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।



कागजपत्र |
