सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण


काठमाडौं –  सामाजिक सञ्जाल टिकटक मार्फत विवादास्पद सामग्री प्रकाशित गरेपछि पक्राउ परेकी रमा बस्नेतलाई थुनामा राख्नुको कारणबारे सर्वोच्च अदालतले स्पष्टीकरण मागेको छ।

बस्नेतका बुबा बलदेव बस्नेतले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोलगायत सात निकायलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।

सोमबार भएको प्रारम्भिक सुनुवाइमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले विपक्षी निकायहरूलाई कारण देखाऊ आदेश जारी गर्दै रमा बस्नेतलाई थुनामा राख्नुको स्पष्ट कारण पेस गर्न निर्देशन दिएको हो।

३१ वर्षीया बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोललगायत नेताविरुद्ध टिकटक भिडियो पोस्ट गरेकी थिइन्। उनीमाथि जातीय र साम्प्रदायिक भावना भड्काउने नियोजित प्रयास गरेको आरोप छ।

बस्नेतलाई असार १ गते पक्राउ गरिएको थियो। विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसक्रममा पटक–पटक म्याद थप गर्दै उनलाई हिरासतमा राखिएको छ।

प्रतिक्रिया