
एक घण्टा पनि काम गर्दैनन् गेटा अस्पतालका चिकित्सक !
कैलाली- कैलालीको गोदावरी नगरपालिका–५ स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गतको गेटा अस्पतालमा कार्यरत चिकित्सकहरूले दैनिक एक घण्टा मात्र काम गर्ने गरेको खुलेको छ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिका अनुसार अस्पतालका अधिकांश चिकित्सक बिहान १० बजे ड्युटीमा आउने र ११ बजे नै फर्किने गरेका छन्। नियमित समय नपुगी चिकित्सक अस्पताल छोड्ने गरेका कारण बिरामीहरू सेवाबाट बञ्चित भइरहेका छन्।
सङ्घर्ष समितिले गेटा अस्पतालका निर्देशक प्रमोद यादवसँग छलफल गरी अस्पताल सेवा सुधारको माग गरेका छन्। समितिका अनुसार चिकित्सक र अन्य कर्मचारीहरू कार्यसम्पादनमा लापरबाही गर्दै आएका छन्। अस्पताल आउँदा पनि चिकित्सकहरूलाई नपाइने, मेसिन बिग्रेको बहानामा बिरामी निजी अस्पतालमा पठाउनेजस्ता गतिविधि दोहोरिन थालेका छन्।
तीन सय शय्याको भनिएको अस्पताल ५० शय्यामा सीमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सय शय्याको अस्पतालको घोषणा गरे पनि हालसम्म ५० शय्याको इनडोर सेवा मात्र सञ्चालनमा छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ का अनुसार अस्पतालमा आवश्यक पूर्वाधार, उपकरण र डाक्टर हुँदाहुँदै पनि सेवा प्रभावकारी नहुनु विडम्बनापूर्ण हो।
उनका अनुसार चिकित्सकहरूको उपस्थिति कमजोर हुँदा बिरामीको चाप समेत बढ्न सकेको छैन। ‘यहाँ चिकित्सक एक घण्टा बस्छन्, मेसिन बिग्रिएको भन्दै बिरामीलाई बाहिर पठाइन्छ,’ पाण्डेले भने, ‘जनप्रतिनिधिहरूले पनि यस विषयमा गम्भीर भएर सल्लाह गर्नु आवश्यक छ।’
डेढ अर्ब रुपैयाँ खर्च भइसकेको गेटा अस्पतालमा अझै आपत्कालीन सेवा सञ्चालनमा आउन सकेको छैन। सङ्घर्ष समितिका सदस्य विनोद विष्टका अनुसार औषधी अभाव, नर्सहरूको गलत व्यवहार, क्यान्टिनमा मनपरी मूल्य लिने, उपकरण किन्दा पारदर्शिता नहुनुजस्ता गम्भीर समस्याहरू छन्।
सदस्य लोकेन्द्र धामीले बायोमेडिकल इन्जिनियर परिवर्तन र लेखा अधिकृतको सरुवामा समेत भ्रष्टाचारको आशंका गरिएको बताएका छन्।
गेटा अस्पतालका निर्देशक प्रमोद यादवले अहिले अस्पताल पुराना योजनाअनुसार चलिरहेको बताउँदै आगामी साउनदेखि नयाँ योजना कार्यान्वयनमा ल्याउने बताएका छन्। उनका अनुसार स्वास्थ्य बीमा, मातृशिशु कार्यक्रम र तीन सय शय्याको अस्पताल सञ्चालनका लागि अनुमति तथा दरबन्दी माग गरिसकिएको छ।
बायोमेडिकल इन्जिनियर हटाइएको विषयमा उनले सरकारी सर्कुलर अनुसार ज्यालादारी कर्मचारीलाई राख्न नमिल्ने भएकाले हटाइएको स्पष्ट पारेका छन्।
गेटा अस्पतालमा चिकित्सकहरूको अनियमित उपस्थिति, सेवा प्रवाहमा कमजोरी, व्यवस्थापनमा लापरबाही र राजनीतिक तथा प्रशासनिक हस्तक्षेपले अस्पतालको अवस्था दिनप्रतिदिन बिग्रँदो छ। संघर्ष समितिले अस्पताल सुदृढ बनाउन निरन्तर दबाब दिने चेतावनी दिएको छ।



कागजपत्र |
