इरानमाथि अमेरिकी गुप्त आक्रमण: १८ घण्टा लामो उडान, २५ मिनेटको सर्जिकल स्ट्राइक


वाशिङ्टन – अमेरिकाले ‘अपरेसन मिडनाइट ह्यामर’ अन्तर्गत आइतबार बिहान इरानका प्रमुख आणविक केन्द्रहरूमा गोप्य र उच्चस्तरीय हवाई हमला गरेको खुलेको छ। बी–२ स्टेल्थ बमवर्षक विमानमार्फत गरिएको यो आक्रमणमा इरानको फोर्डो, नताञ्ज र इस्फाहानस्थित आणविक संरचनाहरू निसाना बनाइएका थिए।

हमलाअघि इरानलाई झुक्याउन अमेरिकी सेनाले मिसौरीस्थित ह्वाइटम्यान एयर बेसबाट केही बी–२ विमानहरूलाई प्रशान्त महासागरतर्फ डिकॉय (छलावा) रूपमा उडायो। ती विमानहरूलाई घरी ट्रयाक गर्न मिल्ने, घरी नमिल्ने बनाउँदै गुआम शिविरतर्फ उडाइएको थियो। यसैबीच सातवटा बी–२ विमान पूर्वतर्फ उडेर इरानको दिशातर्फ लागे।

यी ट्रयाक गर्न कठिन विमानहरू १८ घण्टा लामो उडानपछि मिड-एयर इन्धन भर्दै इरानको हवाइ सुरक्षाबाट बच्दै लक्ष्यमा पुगे। हमलाको नेतृत्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएको थियो। हमलाका बेला उनी, उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र रक्षा मन्त्री पीट हेगसेथ सिचुएसन रुममा उपस्थित थिए।

फोर्डोको पहाडमुनि सयौं फिट तल रहेको आणविक भट्टी ध्वस्त पार्न बी–२ बमवर्षकबाट १४ टन तौलको जिबीयू–५७ ‘म्यासिभ अर्डिनान्स पेनेट्रेटर’ (एमओपी) बम प्रयोग गरिएको थियो। यी बमहरू १८ मिटर कंक्रिट वा ६१ मिटर माटो छेड्न सक्षम छन्। कुल १४ एमओपी बमहरू फोर्डो र नताञ्जमा खसालिएको थियो, जसमा ६ वटा बी–२ ले फोर्डोमा १२ र एकले नताञ्जमा २ बम खसालेका थिए।

यससँगै इस्फाहानमा रहेका आणविक संरचनाहरूमा अमेरिकी पनडुब्बीबाट दुई दर्जनभन्दा बढी टोमहक क्रूज मिसाइल प्रहार गरिएको थियो।

हमलाअघि इरानी एअर डिफेन्स सिस्टम निष्क्रिय पार्न इस्राइलले आंशिक हमला गरेको थियो। अमेरिकी मिडियाहरूका अनुसार अमेरिकाले इस्राइललाई विशेष सहयोगको अनुरोध गर्दै केही डिफेन्स सिस्टमको लोकेसन समेत दिएको थियो। त्यसपछि अमेरिकी लडाकु विमानहरू अघि पठाइए, जसले प्रारम्भिक नष्टिकरण गरेपछि बी–२ ले मुख्य आक्रमण गरे।

ईरानी वायु सुरक्षाले प्रतिक्रिया जनाउन नसकेको र अमेरिकी विमानहरूलाई अवरोधरहित ढंगले लक्ष्यमा पुग्न दिएको पेन्टागनले जनाएको छ।

यो कारबाही २५ मिनेटमै सम्पन्न भएको थियो। अपरेसनमा ७५ भन्दा बढी सटिक हतियार, १२५ वटा अमेरिकी विमान र एक पनडुब्बी संलग्न थिए।

यद्यपि अमेरिकाले इरानको आणविक कार्यक्रम पूर्णरूपमा ध्वस्त पारेको दाबी गरे पनि इरानले क्षतिलाई न्यून रहेको प्रतिक्रिया दिएको छ। उपग्रह तस्बिरले भूमिगत संरचनामा कति क्षति पुगेको भन्ने पुष्टि गर्न नसकेकाले वास्तविक अवस्था अझै स्पष्ट छैन।

न्यू अमेरिकन सेक्युरिटीका रक्षाविज्ञ डा. स्टेसी पेटीजनले अमेरिकी कारबाहीको प्राविधिक सफलताप्रति सन्तुष्टि जनाए पनि यो आक्रमणले इरानको आणविक महत्वाकांक्षा दीर्घकालसम्म रोक्न सक्नेमा शंका व्यक्त गरेका छन्।

यसैबीच, बी–२ बमवर्षक विमानहरू पुनः अमेरिका फर्किसकेका छन्। अमेरिकी पक्षले आक्रमणको थप विवरण सार्वजनिक गरिरहेको छ भने इरानले भने संयमित प्रतिक्रिया दिँदैछ। -बीबीसी

प्रतिक्रिया