७३ जिल्लामा फैलियो डेंगी, काठमाडौंमा सबैभन्दा धेरै संक्रमित


काठमाडौं- मुलुकभर डेंगी संक्रमणको अवस्था गम्भीर बन्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चालु वर्षको जनवरीयता देशभर १,४०३ जना डेंगी संक्रमित पुष्टि भएका छन् भने संक्रमण ७३ जिल्लामा फैलिएको छ। रसुवा, मनाङ, हुम्ला र डोल्पा बाहेकका सबै जिल्लामा संक्रमण देखिएको हो।

पछिल्लो सातामा मात्र ४० जना नयाँ संक्रमित थपिएका छन्। प्रदेशअनुसार सबैभन्दा बढी बागमतीमा ३७१, कोशीमा २९९, गण्डकीमा २५१, लुम्बिनीमा २४५, सुदूरपश्चिममा १८४, कर्णालीमा ३२ र मधेशमा २१ जना संक्रमित देखिएका छन्। काठमाडौंमा सबैभन्दा धेरै १५६ जना संक्रमित भेटिएका छन्।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि ६ जना बिरामी निको भएर घर फर्किएका छन्। अस्पताल निर्देशक डा. युवानिधि बसौलाका अनुसार ओपीडीमा दैनिक १–२ जना डेंगीका बिरामी आउने गरेका छन्। यस्तै, डा. शेरबहादुर पुनले धेरैले लक्षण देखिए पनि परीक्षण नगरी सिटामोल खाएर घरमै बस्ने प्रवृत्तिले जोखिम बढाएको बताएका छन्।

उनका अनुसार डेंगीका लक्षणहरूमा उच्च ज्वरो, टाउको, आँखाको गेडी, ढाड र हाडजोर्नी दुख्ने मुख्य छन्। गम्भीर अवस्थाका लक्षणमा रक्तश्राव, बान्ता, पेट दुखाइ, सास फेर्न गाह्रो हुने, शरीर सुन्निने, प्लेटलेट घट्ने जस्ता समस्या देखिन्छन्। समयमै उपचार नपाए ज्यान जाने खतरा रहेको उनको चेतावनी छ।

डेंगी एडिस जातको लामखुट्टेबाट फैलिने भएकाले सरसफाइमा विशेष ध्यान दिन विज्ञहरूले सुझाएका छन्। यो लामखुट्टे बिहान र बेलुकी सक्रिय हुने र सफा जमेको पानीमा फुल पार्ने भएकाले पानी जम्न नदिन आग्रह गरिएको छ।

ईडीसीडीका डेंगी फोकल पर्सन गोर्कण दाहालका अनुसार स्थानीय तहलाई ‘लार्भा खोज र नष्ट गर’ अभियान चलाउन पत्राचार भइसकेको छ। चालु आर्थिक वर्षमा डेंगी नियन्त्रणका लागि ७ करोड ९६ लाख रुपैयाँ विनियोजन गरिएको छ भने ७५ हजार परीक्षण किट सरकारी अस्पतालहरूमा वितरण भइसकेको जानकारी दिएका छन्।

संक्रमण नियन्त्रणका लागि सरकार मात्र पुग्दैन। स्थानीय तह, टोल विकास समिति, क्लब, र घरधनीहरू सबै मिलेर लामखुट्टे नष्ट गर्न, पानी नजम्न दिन र नियमित सरसफाइमा जुट्नुपर्ने ईडीसीडीको आग्रह छ।

प्रतिक्रिया