


इजरायलबाट फर्कन चाहने नेपालीको नाम संकलन सुरु

काठमाडौं – सरकार इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपालीहरूको नामावली संकलनको प्रक्रियामा जुटेको छ। इजरायलस्थित नेपाली दूतावासले यसबारे सूचना जारी गर्दै इच्छुक नेपालीहरूले अनलाइन फाराम भरि नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाएको जानकारी दिएको हो।
दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको फाराममार्फत इच्छुकहरूले आफ्नो विवरण दर्ता गरेपछि आवश्यक उद्धार प्रक्रिया अघि बढाइनेछ।
इजरायल र इरानबीच चर्किएको युद्धका कारण इजरायलमा रहेका नेपालीहरूमा त्रास बढ्दै गएको छ। हाल त्यहाँ करिब साढे पाँच सय नेपाली रहेका छन् भने इरानमा करिब १२ जना नेपाली छन्।
हालसम्म दुवै देशमा रहेका नेपालीहरू सुरक्षित रहेको भए पनि स्वदेश फर्कन चाहनेको सुविधाका लागि नाम संकलन थालिएको दूतावासले स्पष्ट पारेको छ।

