दार्चुलामा ढुंगा लागेर प्रहरी जवान गम्भीर घाइते


दार्चुला- दार्चुलामा  एकजना प्रहरी जवान ढुंगा लागेर गम्भीर घाइते भएका छन्। महाकाली नगरपालिका–६ निसिल घर भई काठमाडौँमा दरबन्दी रहेको र हाल बैतडीमा कार्यरत प्रहरी जवान दिपेन्द्र पाल मङ्गलबार बिहान घर नजिकै थागिल भन्ने स्थानमा खर काट्न गएका बेला माथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा गम्भीर घाइते भएका हुन्।

पाल बिदामा घर आएका बेला यो घटना भएको हो। तत्कालै स्थानीयको सहयोगमा उनलाई जिल्ला अस्पताल दार्चुला ल्याइएको छ।

घाइतेको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। उनका अनुसार प्रहरी हेडक्वार्टरसँग उद्धारको समन्वय भइरहेको छ।

यसैबीच, घाइते जवान पालको स्वास्थ्य अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहाल जिल्ला अस्पताल पुगेका छन्।

 

प्रतिक्रिया