तनावग्रस्त इजरायलमा नेपालीहरूलाई सुरक्षित रहन दूतावासको आग्रह


काठमाडाैं- इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणपछि सिर्जिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

दूतावासले १३ जूनमा सूचना जारी गर्दै हाल इजरायलमा बदलिंदो सुरक्षा परिस्थितिका कारण होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि जारी गरिएका निर्देशनहरू कडाइका साथ पालना गर्न अनुरोध गरेको हो। दूतावासको सूचनामा भनिएको छ, “इजरायली नेसनल इमर्जेन्सी पोर्टलमा गएर नियमित रूपमा जानकारी अद्यावधिक गर्नुहोस् र स्थानीय सुरक्षा प्रोटोकल पालना गर्नुहोस्।”

त्यस्तै दूतावासले सुरक्षित बंकर वा आपतकालीन आश्रयस्थल नजिक बस्न सुझाव दिँदै, अनावश्यक यात्रा नगर्न, भीडभाडमा नजान र कुनै आपतकालीन अवस्थामा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ।

इजरायलका प्रमुख सहरहरू जस्तै तेल अभिव, हाइफा, अशदोद र जेरुसलममा उच्च सतर्कता अपनाइएको छ। लामो दूरीको क्षेप्यास्त्र आक्रमणको जोखिम रहेकाले स्थानीय प्रशासनले आपतकालीन तयारी तीव्र पारेको छ।

हाल इजरायलमा करिब ५ देखि १० हजार नेपाली नागरिक रहेको अनुमान छ, जो मुख्यतः स्वास्थ्य, कृषि, होम केयर र होटल क्षेत्रमा कार्यरत छन्। युद्ध र आपतकालीन अवस्थाको मानसिक र भौतिक असर परेकाले नेपाल सरकार र दूतावास समन्वयमा जुटेको दूतावासले उल्लेख गरेको छ।

तनाव कहिलेसम्म रहन्छ भन्ने यकिन नभए पनि नेपालीहरूले तत्कालको लागि उच्च सतर्कता अपनाउनुपर्ने दूतावासको सुझाव छ।

प्रतिक्रिया