
चोरी गरेको आरोपमा सर्लाहीका सुशीलको हत्या, मामा–भाञ्जा पक्राउ
काठमाडौं– प्रहरीले सर्लाहीका सुशील यादवको हत्या आरोपीलाई सार्वजनिक गरेको छ। १२ चैतमा यादवको शव मलंगवास्थित खेतमा भेटिएको थियो।
२५ वर्षीय यादवको हत्या आरोपमा सर्लाही प्रहरीले कमल पण्डित उर्फ विमलकान्त पाठक र अशोक झालाई पक्राउ गरेको थियो। पक्राउ परेका २ जनालाई बुधबार सार्वजनिक गरिएको सर्लाहीका एसपी सन्तोष सिंह राठौरले बताए।
मलंगवा–९ का स्थानीय ४५ वर्षीय कमल पण्डित ‘बाबा’ र ४० वर्षीय अशोक भारतीय नागरिक रहेको एसपी राठौरले अनलाइनन्यूजलाई जानकारी दिए।
अशोक र कमल नाताले मामा–भान्जा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। मामा–भाञ्जा मिलेर सुशीलको हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी राठौरले बताए।
११ चैतको साँझ उनीहरुले मलंगवा नगरपालिका–१० स्थित विमलकान्त पाठकको घरमा लगेर गाँजा र नाइट्रोभेट ट्याब्लेट खुवाएर लठ्याएपछि सुशीलको हत्या गरेका थिए।
मलंगवाको जिविस चोकमा रहेको शिवम् होटलमा मदिरा र मासु खाएर निस्केका मामा–भाञ्जाले साइकलमा आएका सुशीललाई बाटोमा भेटेपछि हत्याको योजना बनाएको अनसन्धानबाट खुलेको छ।
‘नशामा लठ्ठ भएर प्रतिकार गर्न नसक्ने भएपछि मामा–भाञ्जा मिलेर डोरीले हातखुट्टा र गम्छाले मुख बाँधेर खेतमा गेका थिए, एसपी राठौरले भने, ‘त्यसपछि मार हान्ने खुकुरी प्रहार गरेर हत्या गरेको देखिन्छ।’
हत्यामा प्रयोग भएको खुकुरी घरमा ल्याएर सफा गरेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ। चोरीको कारण सुशीलको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
६ महिनाअघि विमलकान्त पाठकको घरमा रहेको पानी तान्ने मोटर र जुत्ता चोरी भएको थियो। सोही विषयमा पाठक र सुशीलबीच विवाद भएको थियो।
पाठकले आफ्नो घरको पानी तान्ने मोटर यादवले नै चोरेको आरोप लगाउँदै आएका थिए। चोरी–विवाद बढ्दै गएपछि आफैंलाई मार्न सक्ने आशंका गरेर विमलकान्तको योजनामा सुशीलको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।



कागजपत्र |
