धनगढीमा नगर प्रहरीले कुटे भन्सार प्रमुख


कैलाली- धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मण सिंह धामीको नेतृत्वमा शनिबार राति भएको भन्सार प्रमुखमाथिको कुटपिट घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा धामी स्वयंले भन्सार प्रमुख अनन्त तिमिल्सिनामाथि हातपात गरिरहेको देखिन्छ।

भिडियोमा एक जना नगर प्रहरी इन्सपेक्टरले कुटपिट गरिरहेको र अर्का एक व्यक्तिले उक्त दृश्य खिचिरहेको स्पष्ट देखिन्छ। घटनाले थप चासो र विवाद निम्त्याएको छ।

नगर प्रहरी टोलीले तिब्र गतिमा आएको स्कारपियोले सडकको जाली भत्काएपछि खोजी गर्दै भन्सार कार्यालय पुगेका थिए। त्यहाँ तिमिल्सिनासँग विवाद चर्किँदै हातपातमा पुगेको हो। प्रारम्भिक दाबी अनुसार तिमिल्सिना मदिरा सेवनको अवस्थामा थिए र दुर्व्यवहार गरेका थिए भन्ने आरोप लगाइएको थियो। तर, सीसीटीभी फुटेजले नगर प्रहरीकै आक्रामकता उजागर गरेको देखिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बाल नरसिंह राणाले घटना गम्भीर भएको भन्दै औपचारिक छानबिन सुरु गरिएको जानकारी दिएका छन्। भन्सार प्रमुख तिमिल्सिनाले भने हालसम्म यसबारे कुनै सार्वजनिक टिप्पणी गरेका छैनन्।

 

प्रतिक्रिया