

जेठ १५ मा कुनै अप्रिय घटना हुँदैनः एसएसपी थापा

काठमाडौं — नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं सूचना अधिकारी प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) रमेश थापाले यही जेठ १५ गते घोषित प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा तयारी बनाएर लागू गरिने जनाएका छन् ।
शुक्रबार नक्सालस्थित हेडक्वार्टरमा आयोजित पत्रकार सम्मलेनमा एसएसपी थापाले यसअघिको तीनकुनेको घटनालाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षा तयारी गरिएका कुनै जनधनको क्षति नहुने गरि प्रहरीले तयारी गरेको बताए ।
उक्त अवसरमा उपत्यकाको शान्ति सुरक्षाको जिम्मेवार निकाय काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शेखर खनालले सम्भावित प्रदर्शनलाई ध्यान दिँदै सुरक्षा व्यवस्था कडा पारिएकोले अप्रिय घटना हुन नदिन नेपाल प्रहरी जिम्मेवार रहेको बताए ।
पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता थापाले नेपाल प्रहरीले यस आर्थिक वर्षको १० महिनामा गरेका कार्य प्रगतिहरुको जानकारी गराएका थिए । उक्त अवसरमा एसएसपी थापाले सञ्चारमाध्यमलाई प्रहरीले प्रमुख अंगको रुपमा स्वीकार गरेको बताउँदै भविष्यमा पनि सञ्चार जगतबाट प्रहरीलाई थप जिम्मेवार बनाउनका लागि निगरानी गरिराख्नका लागि अनुरोध समेत गरेका थिए ।
साथै थापाले प्रहरीले पनि सञ्चारमाध्यमबाटै कतिपय घटनाका बारेमा सूचना प्राप्त गर्ने भएकोले सञ्चारमाध्यमलाई पहिलो सूचकका रुपमा लिने समेत जनाएका थिए ।

