

कालीमाटीमा भित्रिएको हरियो धनियाँमा भेटियो अत्यधिक विषादी

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित तरकारी बजारमा राखिएको हरियो धनियाँमा ९९ प्रतिशतभन्दा बढी मात्रामा विषादी पाइएको छ। उक्त धनियाँ काभ्रेपलाञ्चोकबाट ल्याइएको हो। विषादीको मात्रा धेरै भएकाले उक्त धनियाँ उपभोग अयोग्य रहेको जनाइएको छ।
उक्त बजारमा मंगलबार ल्याइएको काभ्रेको धनियाँमा ‘अर्गानोफस्फेट’ नामक विषादी ९९.३७९ प्रतिशत भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
कालीमाटी बजारमा राखिएका १७ प्रकारका तरकारी र फलफूलको नमुना लिएर केन्द्रीय कृषि प्रयोगशालामा परीक्षण गरिएको थियो। त्यसा क्रममा हरियो धनियाँमा ९९ प्रतिशतभन्दा बढी विषादी भेटिएको हो।
सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ। ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ भने ४५ प्रतिशतभन्दा बढी विषादी भए उपभोगका लागि अयोग्य मानिएको छ।

